काठमाडौं- नारायण रायमाझी निर्देशित प्रतीक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ।
निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो। दसैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ।
साढे २ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा सिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ। ‘परदेशी–२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो।
यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको टिजरबाट आकलन गर्न सकिन्छ।
अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझ् सकिन्छ। प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ।
नारायण इन्टरनेशनल प्रालिको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् ।
चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन्।
चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ।
बिबि अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मिना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ। सुदीप कुँवरको सह–निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह–सम्पादन छ।
ईश्वर घिमिरे/रामहरि डंगोलको पोस्ट प्रोडक्सन, मनोज श्रेष्ठ र दिनेश विष्टको भी.एफ.एक्स, मिराज अर्यालको टाइटल डिजाइन, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन र ५.१ मिक्सिङ रहेको चलचित्रको डबिङ र फोले मनोज खड्काले गरेका छन्।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्तो हिट चलचित्र दिएको ब्यानर, हिट चलचित्रको सिरिज,प्रकाशको डेब्यू चलचित्र, स्टार कलाकारहरूको अभिनय लगायतका कारण निर्माण घोषणादेखि नै ‘परदेशी २’ प्रतीक्षित छ। चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ।