काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बी एण्ड बी अस्पताल पुगेका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्।
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए। उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्युटी बोन) भाँच्चिएको थियो। मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो।