काठमाडौं– प्रहरीले सवारीसाधनमा लेखिएका विभिन्न भनाइ, सायरी तथा गजलहरु हटाउन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ हटाउने अभियान सञ्चालन गरेको हो।
सवारीसाधनका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टले अन्य सवारी चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि प्रहरीले हटाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए।
नेपालको कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि भनाइ, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अश्लिल र द्विअर्थी भनाइले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो।
त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ। ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ।