सोमबार, जेठ ४, २०८३

पाँचथरको राँके-रवि सडकमा कालोपत्रे हुन सकेन

भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राँके-रवि-बुधबारे सडकले गति लिन सकेको छैन।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

पाँचथर- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके-रवि-बुधबारे सडकको काम लथालिङ्ग अवस्थामा छ। भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राँके-रवि-बुधबारे सडकले गति लिन सकेको छैन। 

National life

पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चारवर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ। उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन। काम सुरु भएको पाँचवर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ। 

'सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ। मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन,' कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने।

तीन करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमा सम्झौता गरेको थियो। काम २०७८ मङ्सिरसम्म सक्नुपर्ने छ। सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता लगत्तै २०७५ पुस २१ गते कालोपत्र गर्न उद्घाटन गरेका थिए। म्याद गुज्रेको सात महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ। निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक दिएको छैन। इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलो पटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ।

पूर्ण एकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक ०.१ प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ। एप्को इन्फ्रान्टका सञ्चालक जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन्।

एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारक कोभिड–१९ र झरी भएको दाबी गर्छन्। कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गसँग जोड्ने उद्देश्यअनुसार तीन दशक अगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ।

उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम–फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, छ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हुँदै कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डमा पर्ने भेडेटार पुगेर टुङ्गिन्छ।    -रासस

प्रकाशित: Jul 07, 2022| 11:18 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।