काठमाडौं- स्थानीय तहको निर्वाचनअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो। १० वटै वडाका १९ मतदान केन्द्रमा मतदान भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए।
१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन्।
मतदानका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन्। १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको छ।
मतदानस्थलमा एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका थिए। उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गर्दै आएका छन्।
गत वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगन गरिएको थियो।
विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन्।