काठमाडौं- जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फोक्सुन्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन्।
आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दुर्गम भेगको पदयात्रा हुने भएको हो।
साथसाथै फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो। फाउण्डेसनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राखे। मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रमका सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राखिन्। उनले कालापत्थर यात्रादेखि फुक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताइन्।
साथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिइन्।
यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, सञ्चारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ। हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ।
संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो। -रासस