काठमाडौं- केबलकार बिग्रिएपछि चन्द्रगिरि डाँडामा फसेका ४०० जनाको उद्धार गरिएको छ। बुधबार दिउँसो चन्द्रागिरि केबलकार चढेर पारी गएको समयमा केबलकारको टावर नम्बर ४ मा समस्या देखिएपछि केबलकार रोकिएको थियो।
बीचमै केबलकार रोकिएपछि केही यात्रुहरु बीचमै फसेका थिए भने केही यात्रुहरु भने चन्द्रागिरीको डाँडामा फसेका थिए। जसमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो।
केबलकार बिग्रिएको सूचनापछि नेपाल प्रहरीको टोलीले उनीहरुलाई तानेर उद्धार गरेको प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार राष्ट्रिय सभा अध्यक्ष सवार केबलकारसहित २८ वटा केबलकार बीच बाटोमा नै रोकिएका थिउ। त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो।
पारी डाँडामा फसेकाहरुलाई पनि गाडीमार्फत उद्धार गरिएको पाण्डले बताए। उनले भने, 'केबलकार नचलेका कारण माथि डाँडामा अलपत्र परेकालाई गाडीमार्फत उद्धार गरेका छौं।’
उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरि डाँडामा मात्रै खटिएको छ। बेसमा मेडिकल टिम, प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ।
यसअघि १६ चैत २०७८ मा पनि चन्द्रागिरिमा विद्युत् समस्याका कारण यात्रुहरु बीचमै केबलकारमा अड्किएका थिए। त्यतिबेला ३७ यात्रुलाई प्रहरीले उद्धार गरेको थियो।