काठमाडौं- यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका-२ स्थित शंकर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको छ।
शंकरर पोलिक्लिनिकमा सेवाग्राही चेकजाँच गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थितिमै स्वास्थ्य परीक्षणसम्बन्धी जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाइएकाले उक्त कार्यमा संलग्न धादिङ जिल्ला धादिङबेसी नगरपालिका–५ बस्ने वर्ष २७ का राम अर्याल र जिल्ला नवलपरासी पूर्व (नवलपुर) कावासोती नपा–९ बस्ने वर्ष २१ का गणेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
पोलिक्लिनिकको अवलोकन गर्दा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्रलगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारी रीतपूर्वक बरामद गरी उक्त कसुरमा नियन्त्रणमा लिई सम्मानित बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।