काठमाडौं– प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभागीय कारबाही गरेको छ। केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपी समीरमान सिंह बस्नेतलाई भेट्न गएको घटना सार्वजनिक भएपछि केसीमाथि छानबिन थालिएको थियो।
जेलमा रहेका अपराधीलाई भेट्न गएका केसीमाथि विभागीय कारबाही गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले बताए।घटना सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नेतृत्वको तीन सदस्यीय छानबिन समिति बनेको थियो। छानबिन समितिले केसीलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।
समीरमान २०७४ असोजमा निर्माण व्यवसायी महासंघ अध्यक्ष शरद गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ मा बस्नेतलाई भेट्न सुन्धारा कारागार पुगेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो भने केसीलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय रानीपोखरी तानिएको थियो।