गलेश्वर- म्याग्दी राखुकी मनकुमारीले भकिम्लीका टीका (पूर्ण) परियारसँग विवाह गरिन्। पूर्णलाई मन दिएपछि जीवन पूर्ण हुने सोचेकी उनको जीवनमा विवाह गरेकै दिन अपत्यारिलो क्षण आइपुग्यो।
टीकासँगै जीवनका रङ्गिन सपना पूरा गर्न बिवाह गरेर घर पुगेकी उनी खुशी हुनै पाइनन्। पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए। मनकुमारीलाई चित्त बुझेन। तैपनि छोडेर जान सक्ने अवस्था थिएन।
मनकुमारी गर्भवती बनिन्। 'जस्तै दुःख सहेर भए पनि अब सन्तानकै लागि केही गर्छु' भन्ने भावनाका साथ उनले थुप्रै संघर्ष गरिन्। संयोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन् मनकुमारीले। कत्ति घिन नमानी सन्तानको भविष्यका लागि काममा होमिएकी उनले सहकर्मी र अग्रजप्रति गर्ने व्यवहारले सबैलाई लोभ्याउँथ्यो। उनले फोहोरको काम गर्दागर्दै सुष्माको जन्म भयो।
सुष्माले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेकी छन्। उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन्। अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै भएकी छन्।
सुष्मा त्यसै सफल भएकी होइनन्। उनको सफलतामा आमा मनकुमारीको योगदान पनि उतिकै छ।
बाबुको साथ पनि उनले पाउन सकिनन्। आमाले गर्दै गरेको कामबाट पनि हट्नुपर्ने भयो। 'दशौँ वर्ष गरेको नगरपालिकाको जागिर पनि गयो। अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाइरहेकी छु। महिनाभरिको कमाइले के घर भाडा तिर्ने? के हातमुख जोर्ने?' छोरीको खुशीका बेला विगतको आफ्नो हविगत सम्झिएर दुखी बनेकी मनकुमारीले भनिन्, 'कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ। कैयौँपटक कापी, कलम किन्ने पैसा भएन। यसले कहिल्यै गुनासो गरिन। अचानक अमिसाले फोन गरेर सुष्माले जितिन्भन्दा भुइँमा खुट्टा रहेन। दौडेर मञ्चमा पुगे। छोरी र साथीहरुलाई बधाई दिएँ। आज यसको सफलताले सबै दुःख बिर्सिएकी छु। सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु। आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ,' मनकुमारीले भनिन्।
'गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् सुष्मा। राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो। नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्,' प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने, 'सुष्माको प्रदर्शनले हामी खुसी छौँ, उनले विद्यालयको नाम राखेकी छन्। विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ,' विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताए।
सुषमाले अहिलेको प्रदर्शनले खुसी भएको बताए। 'सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ। विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ। यही सपना बोकेर पोखरा जानेछु। आमाको सपना पूरा गर्नेछु। मेरा पदक आमाबुबालाई समर्पण छ,' खुसी व्यक्त गर्दै सुष्माले भने।
प्रदेशस्तरीय खेलमा म्याग्दीबाट ९३ खेलाडी छनोट
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन्।
मङ्गलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए। 'जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं,' अध्यक्ष केसीले भने।
अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ। स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज वितरण गरिएको छ। असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो। छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि बुधबार पोखरा जाँदैछन्।