सिकागो- देशभक्तिको प्रदर्शन आज यहाँ विनाश र विंध्वसमा परिणत भएको छ। अबोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ। स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभागी भएका उनीहरूलाई नियतिले सहिद बनायो।
सिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइडपार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष्ट्रिय झण्डा फहराइरहेका सर्वसाधारण एवम् बालबालिकामाथि एउटा घरको छतमा बसेको बन्दुकधारीले अन्धाधुन्ध गोली गोली चलाउँदा छ जनाको मृत्यु हुनका साथै ३६ जनाभन्दा बढी घाइते भएका छन्।
विद्यालय, गिर्जाघर, किराना पसलमा सीमित रहेको बन्दुक हिंसा अब सामुहिक प्रदर्शन र राष्ट्रिय उत्सवमा सरेको छ। बन्दुक कानुन परिवर्तन नभएसम्म यस्ता घटाना भइरहने एकजना प्रत्यक्षदर्शीले बताएका छन्। स्वतन्त्रता दिवस परेडमा गोली चलेपछि केही बालबालिका ठहरै भएका, रगत चुहाउँदै केही भागेका, केही आधा खाइएका आलुचिप्सका प्याकेटसँगै घाँसमा चीर निन्द्रामा सुतेका, केहीका हातमा चकलेट र कुकीज ताजे रहेको हृदयविदारक दृश्यको वर्णन गर्न नसकिने उनले बताए।
२२ वर्षीय रोर्बट इ क्रिमोले चलाएको गोली लागेर पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्ततः अभियुक्त रोबर्टलाई हिरासतमा लिइएको छ।