काठमाडौं- जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ।
भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो।
अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले बालकसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन्। खातुनलाई बालकसहित प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।
आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन्। विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए। एक महिलाले बालक लगेको स्थानीयवासीले भने पनि ती महिलाको परिचय खुलेको थिएन।
जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले बताए।