काठमाडौं- प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ मन्त्रिपरिषद्को मंगलबार बैठकले सो निर्णय गरेको हो।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनामा परेका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको छ।
कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्यांकन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त संगठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रेस संयोजक बन्धु पोखरेलले जानकारी दिए।