काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले इन्धनको मूल्य बढ्दा काठमाडौं उपत्यकामा सुरक्षा चुनौती बढ्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले यस्तो धारणा व्यक्त गरेका हुन्।
'अहिले पेट्रोलियम पदार्थको मूल्य बढ्यो। जनताले स्वभाविकै रुपमा आन्दोलन गर्ने भए। त्यसका लागि सुरक्षा दिनु पर्यो। यो पनि गम्भीर सुरक्षा चुनौती हो। यस्ता सुरक्षा चुनौतीहरु दैनिक रुपमा बढिरहेका छन,’ उनले भने।
बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको समेत बताए।
‘सरकारले जुन यो विधेयक ल्याएको छ। यो राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याएको हो । यसमा प्रदेश प्रहरीको अधिकार कटौति गर्ने कुनै मनसुवा नै होइन। खाली काठमाडौं, ललितपुर र भक्तपुरलाई काठमाडौं उपत्यका भन्ने जुन प्रचलन छ। त्यसको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको हो,' मन्त्री खाँडले भने।
उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिने विषयमा एमालेको समर्थन छ भने सत्तारुढ माओवादीका सांसदले विरोध गरेका छन्।