काठमाडौं– रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा आज (मंगलबार) बिहान भएको बस दुर्घटनाका चालकले ब्रेक फेल भएपछि दुर्घटना भएको बताएका छन्। प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा उनले दुर्घटनाको कारण ब्रेक फेल भएको बताएका हुन्।
चालक दोलखाका प्रेमबहादुर घतानी अहिले प्रहरी नियन्त्रणमा छन्। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएको प्रहरीको भनाइ छ। ‘ब्रेक फेल भएपछि मैले केही गर्नै सकिनँ,’ चालकको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ। बसको स्थिति हेरेपछि प्रहरीले पनि ब्रेक फेल भएरै दुर्घटना भएको अनुमान गरेको छ।
यसैबीच, दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।
उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका २४ मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक महिला छन्। तीन जनाको पहिचान खुलेको छैन।
घाइते २० जनाको धुलिखेल अस्पताल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो। दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।