मंगलबार, वैशाख २५, २०८१

माओवादी र नेकपा एसको एकता कति सम्भव?

झलनाथ खनाल भन्छन्- पार्टी एकता गर्नका लागि पहिले त विचार मिल्न पर्‍यो। अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्‍न पनि सकिँदैन।
 |  मंगलबार, असार २१, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, असार २१, २०७९

काठमाडौं- घरझगडा र व्यक्तिगत महत्वाकांक्षाले टुक्रिएको 'नेकपा' एकताको बहस फेरि सतहमा आएको छ। सोमबार तत्कालीन नेकपाकै अंश लिएर बनेको नेकपा एसको बैठकमा पनि वाम एकताको विषयले प्राथमिकता पायो। माधव कुमार नेपालको नेतृत्वको नेकपा एसको सोमबारको सचिवालय बैठक करिब ६ घण्टासम्म चल्यो। बैठकमा आइतबार पाँच थान तत्कालीन नेकपाका सचिवालय सदस्यहरुको भेटघाटबारे नेता नेपालले ब्रिफिङ गरे। उनले वामदेव गौतमले वाम एकताको प्रस्ताव गरेको बैठकमा जानकारी गराएका थिए।  

triton college

विशेष गरी नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा पनि शीर्ष तहमा छलफल सुरु भएको अध्यक्ष नेपालले सचिवालय बैठकमा ब्रिफिङ गरेका हुन्। सकेसम्म पार्टी एकता नभए कार्यगत एकता गरेर भएपनि जाने कुरा भइरहेको अध्यक्ष नेपालले बताएका थिए। त्यस्तै, तालमेल भन्दा पनि पार्टी एकता नै गरेर चुनावमा जाँदा फाइदा पुग्‍ने कुरा पनि बैठकमा उठेको थियो। 

आइतबार ललितपुरको सातदोबाटोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौमतबीच छलफल भएको थियो। स्थानीय निर्वाचनको सेरोफेरोमा नेपालका कम्युनिस्टहरुबीचको एकीकरण आवश्यकताका विषयमा विभिन्‍न विचार र बहसहरु भए पनि आइतबारको बैठकले भने नेपालको राजनीतिक फेरि तरंगित बनेको छ। 

माओवादी नेता नारायण काजी श्रेष्ठकाअनुसार आइतबारको बैठकमा चुनावअघि नै नेकपा एस र माओवादीबीच एकता नभए कार्यगत एकता भए पनि गर्नेबारे छलफल भएको थियो। राष्ट्रियता संकटमा परेको भन्दै 'वाम' शक्ति एक हुनुपर्ने निष्कर्ष बैठकको थियो। त्यसको लागि पहिलो चरणमा नेकपा एस र माओवादीबीच एकता गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ। 


corrent noodles
Metro Mart

हुन त यसअघि पनि नेपालले स्थानीय चुनावमा कांग्रेसले धोका दिएको अभिव्यक्ति दिएका थिए। त्यस्तै, प्रचण्डले पनि उस्तै परे कांग्रेसलाई ठेगान लगाइदिने चेतावनी दिएका थिए। कांग्रेससँग असन्तुष्ट रहेका गठबन्धनका यी दुई दल साँच्चै एक हुन सम्भव छ त? जवाफमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल बाहिर चर्चा भएजस्तो माओवादीसँग एकता गर्ने कुरा टुंगोमा पुगि नसकेको बताउँछन्। 

यता नेपालले पार्टीको बैठकमा ब्रिफिङ गरिरहँदा खनालले भने तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना भने असम्भव रहेको दाबी गरे। आगामी संघ र प्रदेशको चुनावमा एमाले मात्रै वा सबै वामपन्थी दलसँग गठबन्धन गरेर जान समाजवादी तयार रहे पनि माओवादीसँगमात्र पार्टी एकता असम्भव रहेको खनालको भनाई छ। उनी भन्छन्, ‘पार्टी एकता गर्नका लागि पहिले त विचार मिल्न पर्‍यो। अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्‍न पनि सकिँदैन।’

त्यस्तै, नेकपा एसकी नेतृ रामकुमारी झाक्री तत्काल माओवादीसँग एकता गर्ने बारे टुंगोमा नपुगेको बताउँछिन्। ‘माओवादीसँगै एकता नै गर्ने कुरा त आएको छैन। मैले पनि बाहिरको हल्ला सुनेको हो,’ उनले नेपाल समयसँग भनिन्, ‘चुनाव अगाडि मोर्चा बनाएर जाने कुरा भएको हुनसक्छ। वार्ता टोलीमा म नरहेकोले यो विषय कति अगाडि बढिरहेको छ भनेर थाहा भएन।’

झलनाथ खनाल भन्छन्- पार्टी एकता गर्नका लागि पहिले त विचार मिल्न पर्‍यो। अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्‍न पनि सकिँदैन।

झाँक्री, खनाल र नेपालको कुरा केलाउँदा नेकपा एस आगामी समीकरणको बारेमा स्पष्ट छैन। यसले नेकपा एसभित्रै अर्को विवाद निम्त्याउने देखिन्छ। जबकी पछिल्ला गतिविधि हेर्दा नेकपाकालीन सचिवालयका पाँच सदस्यीय टोली एमालेसहित वा एमालेबाहेककै भए पनि वाम गठबन्धनको कसरतमा देखिन्छ। जसको संकेत दिँदै पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले ‘नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू एकजुट भएर कम्युनिस्टहरुको एकताका लागि अपिल गर्ने तयारी भइरहेको’ बताएका थिए।

हुन त यसअघि पनि नेकपा माओवादीका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले वाम एकताका लागि सेतुको काम गरिरहेका थिए। नेकपा एसका अध्यक्ष नेपाल र एमाले अध्यक्ष ओलीबीच देखिएको चिसो सम्बन्ध ‘तताउन’ उनी सक्रिए रुपमा लागि परे। गत जेठ ३० गते श्रेष्ठले ओली र नेपालसँग छुट्टाछुट्टै भेट गरेका थिए। तर, एमाले अध्यक्ष ओलीले नेकपा एसको शर्तअनुसार वार्ता गर्ने संकेत नदेखाएपछि नेताहरुले नेकपा एस र माओवादीकै भए पनि एकता गर्ने कसरत थालेको नेताहरुको भनाइ  छ। 

माओवादी ‘एसपीपी’ सम्झौतालाई कारण देखाउँदै नयाँ समिकरण जानुपर्ने रणनीतिमा देखिन्छ। ‘एसपीपी खारेज गर्ने राजनीतिक निर्णय भए  पनि परराष्ट्रले अझैसम्म पत्र पठाएको छैन। नेपालको असंलग्‍न परराष्ट्र नीति बेवास्ता गरेर अमेरिकन अनुकुलको परराष्ट्र नीतिमा जाने कुरा हुँदा अब स्थानीय तहको जस्तो गठबन्धन हुँदैन,’ माओवादीका एक शीर्ष नेताले नेपाल समयसँग भने।

त्यस्तै, माओवादीका अर्का नेता गिरीराजमणी पोखरेलकाअनुसार हाल चलिरहेको केन्द्रीय कमिटीको बैठकमा गठबन्धनलाई लिएर तीन खाले सोचहरु आएका छन्। उनका अनुसार अहिलेको गठबन्धन नै कायम गर्ने, बामपन्थीहरुको एकता गरेर अघि बढ्ने र आफ्नै खुटामा उभिएर जानुपर्ने विषयमा छलफल भइरहेको छ। यी विषयमा टुंगो नलागेकोले माओवादी कुन बाटोमा जान्छ भन्‍ने निश्चित नभएको पोखरेल बताउँछन्। 

‘सम्भवत स्थानीय चुनावको समीक्षा गर्दै वामपन्थी दलहरुको एकतालाई नै जोड दिने कुरा पार्टीको प्राथमिकतामा पर्छ होला,'उनले भने, 'अहिले ठोस रुप चाहीँ आएको छैन। त्यसैले अहिले नै केही भन्‍न सकिने अवस्था छैन।’ 

यसबाट माओवादी र नेकपा एसबीच तत्काल एकता गर्ने कुरा त्यति सहज देखिँदैन। माओवादीभित्र यो कुरा ‘कन्भिन्स’ गर्न प्रचण्डलाई सहज भए पनि माधव नेपाललाई भने पार्टीभित्रैबाट असहज हुने देखिन्छ। माओवादीसँगको एकता तत्काललाई सम्भव नभएको बताएका खनाल खेमालाई मिलाउन नै नेपाललाई चुनौती देखिन्छ।

सुध्रिएको प्रचण्ड-माधव लगनगाँठो


०४२ सालताका चिनजान गरेका माधव नेपाल र प्रचण्ड सुरुमा पञ्चायतकालीन आन्दोलनमा निकट रहे। पञ्चायतविरुद्ध आन्दोलन तयारी हुँदै गर्दा दुवै आ-आफ्नो पार्टीका काठमाडौं जिल्ला इन्चार्ज थिए। भूमिगत रूपमै भए पनि उनीहरूको भेट भइरहन्थ्यो। तर, पहिलो जनआन्दोलन सफल भएपछि भने उनीहरूबीच सम्पर्क पातलियो। 

सम्पर्क पातलिए पनि उनीहरुबीच त्यस्तो फाटो भने आएको थिएन, जस्तो ०६७ सालमा आएर भयो। त्यसबखत प्रधानसेनापति रुक्मांगत कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपति रामवरण यादवले उल्ट्याइदिएपछि प्रचण्डले  प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। संसद्‌को सबैभन्दा ठूलो दल माओवादीलाई सरकारबाहिर राखेर कांग्रेस, एमाले र मधेसकेन्द्रित दलको गठबन्धनबाट नेपाल प्रधानमन्त्री बने।

त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड र नेपालको सम्बन्ध झन चिसियो। सबै घटना भारतीय डिजाइनमा भएको भन्दै माओवादी सडक आन्दोलनमा उत्रियो। माओवादीले ६ दिने आमहड्ताल नै गरे। आन्दोलनको क्रममा २२ वैशाख २०६७ को बानेश्वर सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालप्रति लक्षित गर्दै भने, ‘यो कठपुतली सरकार हो। हामी नोकरसँग होइन, अब मालिकसँगै वार्ता गर्छौं।’

०६० को दशकअघि चिसिएको प्रचण्ड र नेपालको सम्बन्ध हार्दिक बनाउन केपी ओली 'सेतु' बने। ओलीको विरोध गर्न उनीहरु एकठाउँमा आए। अझ उनीहरुकै भाषामा भन्दा ओलीलाई ठेगान लगाउन उनीहरु माइतीघरको चिसो सडकमा हामी यता छौं एकठाउँमा बसे। र, प्रचण्ड-नेपालको बोली र लोली मिल्‍न थाल्यो। जुन हालसम्म निरन्तर छ।

हुन पनि ०६४ को चुनावमा दुई तिरबाट पराजीत भएका नेपाल प्रचण्डकै जोडबलमा सांसद बनेका थिए। यसरी मनोनित सांसद आफूलाई हटाएर प्रधानमन्त्री बनेपछि प्रचण्ड र नेपालबीच त्यतिबेला घोचपेच चलिरह्यो। प्रचण्डले त आफूले अमृत ठानेर संविधानसभामा ल्याएको नेपाल 'विषवृक्ष' रहेको टिप्पणी नै गरे। नेपालले पनि उक्त टिप्पणीको कटाक्ष गरिहाले। प्रत्युत्तर फर्काए, ‘न म विषवृक्ष हुँ, न त कल्पवृक्ष नै। तर, म यस्तो वृक्ष बन्‍न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मिठो फल दिन प्रयत्‍न गर्नेछ। नसके बाटो हिँड्ने बटुवालाई छहारी अवश्य दिनेछु।’

यसरी दशकअघि घोचपेचमा उत्रिएका माधव-प्रचण्डको लगनगाँठो दशकपछि आइपुग्दा फेरि सुध्रिँदै गएको छ। नेता नेपाल प्रधानमन्त्री हुँदा कठपुतलीको सरकार भन्दै आन्दोलन गर्ने प्रचण्ड अहिले उनै नेपालसँग नजिक छन्। केही समयअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुवै नेता ‘हामी यता छौँ’ लेखिएको प्ला कार्ड लिएर माइतीघर मण्डलाको सडकमा सँगै धर्ना नै बसेका थिए। 

०६० को दशकअघि चिसिएको प्रचण्ड र नेपालको सम्बन्ध हार्दिक बनाउन केपी ओली 'सेतु' बने। ओलीको विरोध गर्न उनीहरु एकठाउँमा आए। अझ उनीहरुकै भाषामा भन्दा ओलीलाई ठेगान लगाउन उनीहरु माइतीघरको चिसो सडकमा हामी यता छौं एकठाउँमा बसे। र, प्रचण्ड-नेपालको बोली र लोली मिल्‍न थाल्यो। जुन हालसम्म निरन्तर छ। त्यसपछि उनीहरु निरन्तर तालमेल गर्दै अघि बढिरहेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीको निरन्तरको तालमेलले पार्टी एकताको बहस फेरि सतहमा आएको हो। 

वामदेवको भूमिका 

कुनै समय माधवकुमार नेपाल महासचिव रहेको पार्टी विभाजन गरेर अलग पार्टी बनाएका कम्युनिस्ट नेता वामदेव गौतम अहिले आफैं पार्टी एकता अभियानमा लागेका छन्। २१ फागुन २०५४ मा एमाले विभाजन गरेर गौतमले नेकपा माले बनाए। चुनाव चिह्न भयो तारा। ०३५ सालमै जन्मिएको माले २०४७ मा नेकपा मार्क्सवादीसँग एकता गरेको थियो। २०५४ सालमा फेरि माले जन्मिएपछि नेताहरुले एक-अर्कालाई आलोचनाका लागि सम्भवत: कुनै शब्द बाँकी राखेनन् भन्दा अस्वभाविक हुँदैन। 

मालेहरूले ‘विकृति विसंगतिको पोको एमालेमै छोडौं, क्रान्तिकारी शक्ति निर्माणका लागि मालेमा गोलबन्द होऔं’ भन्ने नारा लगाएका थिए। वामदेव गौतम नेतृत्वको मालेले २०५६ को निर्वाचनमा नराम्ररी पराजय व्यहोर्नु पर्‍यो। चुनाव हारेपछि नेताहरू तिलमिलाए, कार्यकता लडखडाउन थाले। कार्यकर्ताहरु केही माओवादीमा लागे भने केही एमालेमै फर्किए। हुर्किरहेको माओवादीलाई मालेको पराजयले मलजल गर्‍यो। एउटै चुनावको चोट सहन गाह्रो भएपछि वामदेव गौतमसहितको टोली एमालेमै फर्कियो। २०५८ मा एकीकरण भए पनि पूर्ण रूपमा एक भएन, बरु टुक्राहरू झन् टुक्रिँदै गए।

सायद, त्यही विभाजनको पीडाले होला नेकपा विभाजन हुँदा पनि वामदेव भने एकताको पक्षमा उभिने बताइरहे। नेकपा एमाले र माओवादी केन्द्र विभाजन हुँदा पनि उनी तटस्थ थिए भने नेकपा एमाले र नेकपा एसको विभाजनमा त उनले नेकपा एकता अभियान नै घोषणा गरे। 

केपी ओलीको कदमको विरोध गरे पनि खुलेर माधव नेपालको पार्टीमा पनि लागेनन्। यिनै वामदेवले असार १४ गते मंगलबार नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरे। पार्टी घोषणा गरेसँगै उनले कम्युनिस्ट दलका नेताहरुसँग भेटघाटलाई तीव्रता दिए। तर, उनीसँगै एकता अभियानमा आवद्ध भएका अन्य नेताहरुले भने 'बार्गेनिङ अस्त्र' बनाएको भन्दै विभिन्‍न आरोप लगाउँदै संयोजकबाट निलम्बन गरे। त्यसको काउन्टरमा वामदेवले पनि आफूलाई कारबाही गर्नेलाई निलम्बन गरेको निर्णय गरे। यहीबीच उनले तत्कालीन नेकपा नेताहरुलाई भेट्‍ने वातावरण मिलाएका हुन्। उनले नेपालका वामहरुबीच एकता गर्नुपर्नेमा जोड दिइरहेका छन्। 

प्रकाशित: Jul 05, 2022| 09:53 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...