बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको हो।
फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित शङ्कास्पद चार व्यक्ति पक्राउ परेका हुन्। आइतबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नं को बसबाट लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन्। बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कमब्याक झोलामा खैरो रङको प्लास्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागुऔषध बरामद भएको थियो।
सुराकीको आधारमा प्रहरी उक्त बस बुर्तिबाङ प्रवेश गरेदेखिनै पछि लागेको थियो। पार्किङमा रहेको बसमा लागुऔषध बरामद भएपछि उनीहरुलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो। पछिल्लो समय बागलुङको बाटो भएर लागुऔषधको कारोबार गर्नेहरु बढेको सूचना प्रहरीले पाएको थियो। बरामद भएको लागुऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रानाले बताए।