कास्की- बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। संघीय राजधानी काठमाडौंको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो।
पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ। आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलोपानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदैछ।
पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने रहेको छ।
गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। आयोजनाको पाइप लाइन विस्तार र एउटा 'रिजर्भवायर ट्याङ्की' र मुहानमा केही काममात्र बाँकी रहेको बताइन्छ।
जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ। प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ।
आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताए।
आयोजनाको हालसम्म मर्दी मुहानमा 'ग्रिड च्याम्बर', 'सेडिमेन्टेशन ट्याङ्की' र 'स्लो स्याण्ड फिल्टर'को ९५ प्रतिशत काम सकिएको छ। पोखराभित्रका तीनवटा ठूला रिजर्भवायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ। इन्जिनियर दासका अनुसार 'रिजर्भवायर ट्याङ्की'को कोलपाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो।
अन्तर्राष्ट्रिय विमानस्थलसँगैको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो। यसलाई अन्यत्र स्थानान्तरण गर्ने भन्ने बारेमा जाइका र नेपाल सरकारले निर्णय गरिसकेका छैनन्। यसैगरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५/१६ किमी मात्र बाँकी छ। -रासस