बुटवल- अविरल बर्षाले ठाउँ ठाउँमा पहिरोगएपछि बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। बुटवल–पाल्पा सडक अन्तर्गत सिद्धबाबा नजिकै गेग्रेटो र ठूला–ठूङ्गा सहित पहिरो खसेपछि सडक बिहानैबाट अबरद्ध भएको हो।
माथिल्लो सिद्धबाबा नजिकै रहेको एक छिहिरामा बाढीसँगै ढुङ्गा खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवले जनाएको छ।
मंगलबारसमेत सोही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। यसैगरी पाल्पा–रामपुर सडकसमेत अवरुद्ध भएको छ। विभिन्न ठाउँमा पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको मध्यविन्दुमा सडक अवरुद्ध भएको छ। बाढीले सडकमा रहेका तीन वटा कल्भर्ट बगाएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अवरुद्ध भएका ठाउँहरुमा वर्षा कम भएपछि तथा नदी, खोलाको बहाब कम भएपछि मात्रै खुलाउन सम्भव हुने बताइएको छ।