बैंकक- थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय अनुतीन चार्नविराकुल र जुरिन लक्सानाभिसित सङ्क्रमित भएका हुन्।
सङ्क्रमित भएका उपप्रधानमन्त्री अनुतीनले सार्वजनिक स्वास्थ्य मन्त्रालयको जिम्मेबारी समेत सम्हाल्नु भएको छ भने जुरिनले व्यापार मन्त्रालयको कार्यभार लिएका छन्।
उनीहरु दुबै जना विदेश भ्रमणबाट फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ। उनीहरु छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा गएका थिए।
अनुतीन जेनेभा गएका थिए भने जुरिन बेलायत गएका थिए। अनुतीनलाई मांसपेशी दुखाई समेत भएको जनाइएको छ।
जुरिनले भने सङ्क्रमित भएपनि घरबाटै काम गरिरहेका छन्। उनलाई खासै स्वास्थ्य समस्या देखिएको छैन।
दुवै उपप्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता आइसोलेसनमा बस्न सिफारिस गरिएकाले उहाँहरु अहिले आइसोलेसनमै रहेका छन्।
मंगलबार मात्रै थाइल्याण्डमा एक हजार ७६१ जना नयाँ सङ्क्रमित भएको र १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।