सोमबार, वैशाख २४, २०८१

नेकपा एसका मन्त्रीको ‘सकसपूर्ण’ बहिर्गमन

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिवले झाक्रीको तारिफ गर्दै उनलाई बोल्न आग्रह गरे। तर, झाँक्री भने सुँक्कसुँक्क गर्दै 'टिस्यु पेपर'ले आँखा र नाक पुछिरहेकी थिइन्।
 |  आइतबार, असार १२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, असार १२, २०७९

काठमाडौं- सरकारले आइतबार मन्त्रिमण्डल पुनर्गठन गरेको छ। जसमा नेकपा एकीकृत समाजवादी (एस)को चर्को दबाबपछि पाँच जना मन्त्री हेरफेरि गरिएको हो। नेकपा एसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुको बहिर्गमन त्यति सहज भएन। पार्टीले नै फिर्ता बोलाएर नयाँ मन्त्रीमण्डल पठाउने निर्णय गरे पनि मन्त्रीमा रहेकाहरुले सहजै फिर्ता हुन मानेनन्। बरु उनीहरुले पटक-पटक विद्रोहको छनक देखाइरहे।

triton college

गत जेठ २१ गते समाजवादीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसलगत्तै तीनकुनेस्थित पार्टी कार्यालयमा असार १ गते बसेको समाजवादीको स्थायी कमिटी बैठकले उक्त निर्णयलाई अनुमोदन गर्‍यो। सरकारमा सहभागी हुँदा नै ६ महिनामा मन्त्री परिवर्तन गर्ने सहमति भएको दाबी गर्दै समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णय लिएको थियो।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्नेसहित मेटमणी चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई सिफारिस गर्ने निर्णय समाजवादीको थियो। तर, मन्त्रीहरुले आफूले ल्याएको बजेटको जवाफ दिने मौका प्रदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए।

उक्त आग्रहपछि प्रधानमन्त्री देउवाले बजेट पारित हुने समयसम्म पर्खिन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए। समाजवादीकै मन्त्रीहरुले आन्तरिक रुपमा देउवालाई दबाब दिएपछि मन्त्री फेरबदलको निर्णय तत्कालको लागि निष्क्रिय बनेको पार्टीकै नेताहरुले टिप्पणी गरेका थिए। यद्यपि, मन्त्रीका लागि सिफारीस भएका मेटमणी चौधरीलगायतका नेता भने मन्त्रीको शपथ ग्रहणका लागि निकै आतुर देखिएका थिए। 

यता मन्त्री रहेकाहरु भने भर्खरै बजेट आएकोले पनि संसदमा आफूहरुले जवाफ दिनुअघि राजीनामा नदिने अडान राखिरहे। तर, उनीहरुको अडानलाई पार्टीले वास्ता गरेन। पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउन र प्रधानमन्त्रीलाई पार्टीको निर्णयमा बाधा नपुर्‍याउन निरन्तर दबाब दिइरह्यो।

corrent noodles
Metro Mart

त्यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल पनि भयो। छलफलमा प्रधानमन्त्री देउवाले बजेटको जवाफ दिने मौका मन्त्रीहरुलाई दिने बताएपछि केही समय मन्त्री फेरबदलको गर्जो टर्‍यो।

बालुवाटारमा पुगिसकेको नयाँ मन्त्रीहरुको सूची त्यहीँ रोकिएपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले उत्साहजनक प्रतिक्रिया दिइहाले, ‘बजारमा चलेको हल्ला बजारमै सकियो।’ त्यस्तै रामकुमारी झाक्रीले पनि मन्त्री फेरबदलको निर्णय उचित नभएको नेपाल समयसँग बताएकी थिइन्।

समाजवादीले दबाब दिइरहे पनि मन्त्री हेरफेर गर्ने निर्णय करिब २३ दिन पर धकेलियो। जबकी संसदीय प्रणालीमा मन्त्री कसलाई बनाउने वा कसलाई फिर्ता बोलाउने भन्‍ने निर्णय सम्बन्धित पार्टीले गर्छ। यद्पि प्रधानमन्त्री देउवाले भने सम्बन्धित मन्त्रालयका लागि सम्बन्धित मन्त्रीले ल्याएको बजेटको जवाफ दिने अवसर बर्हिगमनको सूचीमा परेका मन्त्रीहरुलाई दिए। 

प्रधानमन्त्री देउवाको आलटालले समाजवादीका अध्यक्ष माधव नेपाललाई आफ्नै मन्त्री फिर्ता बोलाउने कुरा ‘फलामाको चिउरा’ चपाउनु सरह बन्यो। जसलाई लिएर उनले खुलेरै आपत्ति जानउन थाले। नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा नेपालले मन्त्री हेरफेरबारे भएको आलटाल र ढिलासुस्तीबारे असन्तुष्टि प्रकट गरे।

बडो सकसपूर्ण रुपमा मन्त्रीबाट बहिर्गमन भइरहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री भने आफ्नो बिदाइमा आयोजित पत्रकार सम्मेलनमा भावुक सुनिइन्। आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिवले झाक्रीको तारिफ गर्दै उनलाई बोल्न आग्रह गरे। तर, झाँक्री भने सुँक्कसुँक्क गर्दै 'टिस्यु पेपर'ले आँखा र नाक पुछिरहेकी थिइन्। उनले आफू बोल्न सक्ने अवस्थामा नरहेको बताउँदै अनौपचारिक भइन्।

यद्यपि, नेपाल केही आशावादी र सकारात्मक पनि सुनिए। उनले भनेका थिए, ‘खासगरी प्रधानमन्त्रीले र माओवादीका साथीहरुले हाम्रोभित्र पनि अब त्यस्ता मागहरु आइरहेको हुनाले केही दिन पर्खिदिनुपर्‍यो भनेको हुनाले अब एक–दुई दिन पर्खिने कुरा नै हुन्छ। आज पनि यस सम्बन्धमा कुराहरु उठेको छ। छिटै अब मन्त्रीहरुको परिवर्तन गर्ने प्रधानमन्त्रीजीले भन्‍नुभएको छ।' 

तर, प्रधानमन्त्री मन्त्री फेरबदल गर्ने कुरामा टसमस भएनन्। र, असार ८ गते बसेको सचिवालय बैठकले मन्त्रीहरुको हेरफेर गर्ने विषयमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री देउवासँग जवाफ खोज्‍ने निर्णय नै गर्‍यो। ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर निर्णय गरेका छौं। त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन? तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भनेका छन्।

आफ्नै मन्त्री र समाजवादी नेतृत्वबीच धेरै भनाभन चलिनै रह्यो। मन्त्री फेरबदलको किचलोले पार्टीभित्रो विवाद सार्वजनिक भयो। मन्त्री झाँक्रीले त नयाँ पार्टी खोल्ने विषयमा बहस गरौँ भन्दै ‘घुर्की’ नै लगाइन्। यसरी पक्ष-विपक्षमा नेताहरुले धारणाहरु राखिरहे। अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल नै मन्त्री हेरफेर गर्ने पक्षमा रहे पनि बहालवाला मन्त्रीसहित केही सांसद खुलेरै यसको विपक्षमा देखिए। 

शुक्रबार समाजवादीकै १० जना सांसदले मन्त्री फेर्ने पार्टीको निर्णय नमान्‍ने भन्दै ‘विद्रोह’ नै गरे। मन्त्रीसहित ६ जना सांसदले संसदीय दलको बैठक तत्काल बोलाउनुपर्ने आवाज उठाए। सरकारमा रहेका पार्टीका नेताहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको आरोप उनीहरुको थियो।

यसरी पार्टीको निर्णयविरुद्ध विद्रोह गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठसहित सांसदहरुमा कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरु थिए। 

‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रिया अनुसार मन्त्रीबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्‍न सकिँदैन,’ १० सांसदहरुले पार्टी अध्यक्ष नेपाललाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको थियो।

उनीहरुको यस्तो पत्रले राजनीतिक वृतमा थप तरंग मच्चायो। पार्टीको निर्णय नै कार्यन्वयन गराउन नसकेको भन्दै कतिपयले माधव नेपाललगायत शीर्ष नेताहरुलाई ‘विचरा’ नै भन्‍न भ्याए। एमाले नेता योगेश भट्टराई लगायतले माधव नेपाललाई खुच्चिङ गर्दै उनको क्षमता र भूमिकामाथि नै प्रश्‍न उठाए। 

योगेश भट्टराईले सामाजिक सञ्‍जालमा लेखेका थिए, 'एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्‍न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टीएको पलको स्मरण भइरहेको छ। हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दै जानुहुनेछ। आत्माबोध र पश्चातप: सिर्फ कहिले?'

शुक्रबार चर्किएको समाजवादीको मन्त्री हेरफेरको विवादले शनिबार एकाएक अर्को ‘मोड’ लियो। पर्यटन मन्त्री आलेसहित ६ सांसदहरु कृष्णलाल महर्जन, धनबहादुर बुढा, गोपालबहादुर बम, कर्ण कायस्थ र बिनादेवी बुढाथोकीले विज्ञप्ति जारी गर्दै संसदीय दलको बैठक बोलाउने माग फिर्ता लिएको जानकारी गराए।

मन्त्री आलेसहित ६ सांसदले अध्यक्ष नेपाललाई बुझाएको ध्यानाकर्षण पत्रमा गरिएको हस्ताक्षर फिर्ता लिएपछि ‘१० टोली’ पनि विभाजित बन्यो। आइतबार दिनभर यही विषयले चर्चा पायो। समाजवादीका अध्यक्ष नेपालले पनि मन्त्रीहरुको राजीनामा खल्तीमा बोकेर हिँडेकोले आजै नयाँ मन्त्रीहरुले शपथ खाने दाबी गरे।

अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको दबी गरे। ‘केही मन्त्रीहरुले दिएको राजीनामा पत्र म गोजीमा लिएर हिँडिरहेको छु। कुनै बेला त्यो राजीनामा पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु। अरू मन्त्रीहरुले पनि त्यस्तै ढंगले राजीनामा पत्र पठाउनुहुनेछ,’ नेपालले भनेका थिए। नभन्दै त्यस्तै भयो, आइतबार बेलुकासम्म मन्त्री आलेसँगै झाँक्रीले पनि सरकारबाट राजीनामा दिएकी छन्।

सरकारबाट बाहिरिँदै गर्दा आइतबार अपरान्ह दुबै मन्त्रीले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राखे। मन्त्री आलेले त आफूले आफैंलाई अंक दिन भ्याए। उनले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरे। ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु। बाँकी जनताले मूल्यांकन गर्ने नै छन्,’ उनले भने।

सँगसँगै आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको कार्यकर्ता भएको दाबी गरे। हुन पनि त्यस्तै थियो, आलेले आफ्नो कार्यकालमा राम्रै चर्चा कमाए। कतै अपशब्द बोलेको अडियो सार्वजनिक भएर त कतै ‘अन द स्पोट एक्सन’ लिने प्रयत्‍न गरेको भन्दै उनी चर्चामा आए। 

बडो सकसपूर्ण रुपमा मन्त्रीबाट बहिर्गमन भइरहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री भने आफ्नो बिदाइमा आयोजित पत्रकार सम्मेलनमा भावुक सुनिइन्। आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिवले झाक्रीको तारिफ गर्दै उनलाई बोल्न आग्रह गरे। तर, झाँक्री भने सुँक्कसुँक्क गर्दै 'टिस्यु पेपर'ले आँखा र नाक पुछिरहेकी थिइन्। उनले आफू बोल्न सक्ने अवस्थामा नरहेको बताइन् र अनौपचारिक कुराकानी गर्न थालिन्। 

कुराकानीको क्रममा पत्रकारहरुले सोधिहाले, ‘तपाईं मन्त्रालयमा आफूले सोचेका कामहरु पूरा गर्न सकिनँ भनेर भावुक बन्नुभएको हो कि आफनो पार्टीले अनाहकमा हटायो भनेर दुखी बन्‍नुभएको हो?’ प्रश्न सोध्‍नासाथ झाँक्रीका आँशु नै खस्‍न थाले। ‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि?,’ उनले टारिन्।

यसबाट समाजवादीका तर्फबाट मन्त्रीमा रहेकाहरुको बहिर्गमन कति सकसपूर्ण थियो भन्‍ने प्रस्ट हुन्छ। स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रम, रोजगार र सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने आफू बाहिरिएको औपचारिक जानकारीसमेत गराउन भ्याएनन्। पार्टीको निर्णय पश्चात पनि मन्त्री फेरबदलमा भएको लफडाबाजी र पार्टीभित्र बढेको किचलोबाट पनि समाजवादी गुज्रनुपर्‍यो। अध्यक्ष नेपाललाई पनि आफ्नै मन्त्री फिर्ता बोलाउने कुरा सकसपूर्ण बन्‍यो।

यही सकसका माझ माधव नेपालले गरेको निर्णय २३ दिनपछि कार्यान्वयन भयो। आइतबार अबेर साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीमण्डल हेरफेर गरिएको सूची सार्वजनिक गरिन्। जसमा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भए। भवानी खापुङ राज्यमन्त्रीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा भए भने हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बने। 


प्रकाशित: Jun 26, 2022| 20:08 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...