काठमाडौं- सरकारले करमा कटौती पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन्।
मन्त्री बडूले डिजेलमा प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन्। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ।
यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो।
नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो। अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ। एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो। कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ।
इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन्। त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ। हाल पूर्वाधार करबापत पेट्रोल/डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ। सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ। उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ लिने गरेको छ। नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ। त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्याइएको छ।