बुटवल- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलालीको अत्तरिया शाखा औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ।
२०७८ मंसिर २६ गतेदेखि बैकिङ कारोबार गरेको उक्त शाखाको शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले विधिवत उद्घाटन गरेका हुन्।
यसअघि सुदुर पश्चिम प्रदेशहको धनगढी र महेन्द्रनगरमा बैंकका शाखा कार्यालय सञ्चालनमा आइसकेका छन्। सो अवसरमा बोल्दै नगर प्रमुख भट्टले दुर्गम ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेको अवस्थामा शाइन रेसुङ्गा बैंकले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शाखा विस्तार गर्नु स्वागतयोग्य भएको बताए। नगर प्रमुख भट्टले अत्तरिया क्षेत्रका नागरिकलाई सहज र सरल बैंकिङ सेवा दिन बैंकलाई सुझाव दिए।
चेम्बर अफ कमर्स अत्तरियाका अध्यक्ष तिर्थ ओझा र उद्योग वाणिज्य संघ अत्तरियाका बरिष्ठ उपाध्यक्ष कल्याण सिंह बोहराले नयां बैंकको शाखा सञ्चालनमा आउनुले स्थानीय उद्योगी व्यवसायीलाई आर्थिक कारोबार गर्न सहज हुने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय जनताको माग र आवश्यकता अनुसार बैंकले कृषि,उद्योग,व्यसाय लगायत उत्पादनमुलक क्षेत्रमा सहजरुपमा कर्जा र निक्षेप योजना लागु गर्ने बताए। उनले शाइन रेसुङ्गा बुटवलमा केन्द्रीय कार्यालय भएको लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गर्दै बैंकले शहरी क्षेत्र संगै ग्रामीण र दुर्गम क्षेत्रमा पनि शाखा विस्तार गर्दै जाने नीति लिएको बताए।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराए। बैंकका कर्मचारी तेज रावललले सञ्चालन गरेको कार्यक्रममा बैंकका सञ्चालक मोहन चापागाई,विरेन्द्र विष्ट, विभागीय प्रमुख लालमणी पन्थी,क्षेत्रीय प्रमुख लेखनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।
अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन्।