काठमाडौंको पुरानोमध्येकै एउटा महत्वपूर्ण चोक हो– इन्द्रचोक। विभिन्न ६ वटा बाटालाई जोडेको यो चोकको आफ्नै इतिहास छ। नेपाली प्राचिन इतिहासको अनेक किंवदन्तीसहित बाँचिरहेको छ, यो चोक। अनि वर्षौदेखि व्यापारको एउटा केन्द्र पनि बनेको छ। जहाँ हजारौं मान्छेहरु यहाँ किनमेल गर्न आउँछन्।
मान्छेको यही ठेलाठेल भिडमा सधैँ भेटिरहने एउटा अनुहार हो– बिन्दा चौधरी। झट्ट हेर्दा युरोपियन नागरिकजस्ता देखिने उनी त्यहाँ हरेक दिन बाँसुरी बेचिरहेका हुन्छन्।
अरुभन्दा फरक देखिने भएकाले पनि उनी मानिसको नजरमा परिहाल्छन्। कैलो कपाल, कैलो नै परेला र गोरो अनुहार भएका व्यक्ति इन्द्रचोक वरपर सुमधुर आवाजसहित जब आफै बाँसुरी बजाइरहेका हुन्छन्, देख्नेहरु पनि हिडिरहेको ठाउँमै रोकिन बाध्य हुन्छन्। बाँसुरी बेच्ने उनको व्यापार शैलीले सबैलाई मोहित बनाउँछ।
धेरैले उनलाई ‘युरोपियन ठान्छन्’ तर खासमा भारतिय नागरिक हुन्। बिहारको पना राज्यमा घर भएका उनी बिगत २० वर्ष देखि नेपाल बस्दै आएका छन्। धेरै भारतिय नागरिक जस्तै उनी पनि व्यापार गर्नको लागि नेपाल आएका हुन्।
‘आमा नेपाल भ्रमण गर्न इन्डिया आउनु भएको थियो। त्यही बेला बुबासित भेट भएछ। प्रेममा परेपछि बुबा आमाको विवाह भएकाले आमा इन्डिया नै बस्नुभयो,’ बिन्दा सुनाउँछन्।
उमेरले ५२ पुगेका उनले पनि प्रेम विवाह गरेका हुन्। भारतकै सितामढीमा उनी व्यापारको लागि पुगेका थिए। त्यही समयमा उनले प्रेम विवाह गरेका थिए। अहिले उनको श्रीमती र परिवार पटनामा छ। चार छोरा र दुई छोरीका बुबा उनले काठमाडौंमा कमाएको पैसाले पुग्न नसकेको बताउँछन्। घरमा खेति हुने भएकाले सजिलो भने भएको उनले बताए।
‘जेठो छोरा बम्बइमा भवन बनाउने काम गर्छन्। माइला छोरा पढाई सक्काएर जागिर खान थालेको छ,’ छोराहरुले जागिर खान थालेपछि परिवार चलाउन सजिलो भएको बताउँछन् उनी।
चाडपर्व र अन्य महत्वपूर्ण काम बाहेक अन्य समयमा नेपालमै व्यापार गर्न बसेका हुन्छन्। भर्खरै मात्र जेठो छोराको विवाह गरेर फर्किएका उनलाई अब फेरि कहिले घर जाने भन्ने थाहा छैन।
लामो समय काठमाडौमा व्यापारको सिलसिलामा रहेका उनी मेला लागेको बेलामा बाँसुरी बोकेर बेच्न पुग्छन्। बालाजु, स्वयम्भु, पशुपति उनी व्यापारको लागि पुगिरहने ठाउँ हुन्। उपत्यका र अन्य नजिकका ठाउँमा कुन तिथिमा कहाँ जात्रा लाग्छ सबै कण्ठस्त छ। मेलाको मौकामा अलि व्यापार हुने भएकाले पनि उनले मौका छुटाउँदैनन्।
‘सुरुसुरुमा बाँसुरी बजाउन आउँदैनथ्यो,’ उनी भन्छन्, ‘त्यही भएर व्यापार पनि खासै हुँदैनथ्यो। पछि साथीहरुसित बजाउन सिकेँ। त्यसपछि थाहा भयो, बाँसुरीको धुन सुनाएपछि, मान्छेहरु किन्ने रहेछन्। ’
अन्य समयमा भने उनी ठमेलमा व्यापार गरिरहेको भेटिन्छन्। आफूलाई काम गर्न सहज हुने भएकाले पनि इन्द्रचोकमा डेरामा बस्दै आएका छन्। आफुले बेच्ने बाँसुरीहरु सबै इन्डियाबाटै ल्याउने गरेको बताउँछन् उनी। घर पुगेर पनि खाली समयमा त्यसै बस्नुको साट्टो बाँसुरी बनाउने काम गर्छन्। ‘एक वर्षमा हजार ओटा देखि दुई हजारवटा बाँसुरी विक्री हुन्छ। चार/पाँच सयवटा बाँसुरी आफैले बनाउँछु, बाँकी भारतबाट नै किनेर ल्याउँछु,’उनले भने।
आफूले ल्याएको सामान सक्कियो भने कहिले आफै भारत पुग्छन्, कहिले आफूजस्तै व्यापार गर्ने अरु साथीलाई ल्याइदिनु भन्छन्।
कहिले राम्रै व्यापार भएपनि कहिलेकाँही एउटा बाँसुरी पनि नबेचेको अनुभव छ उनीसित। उनीसित ६० रुपैयादेखि ५०० रुपैया मूल्यसम्म पर्ने बाँसुरीहरु छन्। हातले सामान्य प्वाल बनाइएको बाँसुरी सस्तो पर्छ। तर स्केल बाँसुरी बनाउन पनि समय लाग्ने र राम्रो धुन निकाल्ने भएकाले महँगो पर्ने उनी बताउँछन्।
पढाइ नभएकाले काम के गर्ने थाहा थिएन उनलाई। साथीहरुले घर घरमा पुगेर सामान बेचेर जिवन चलाउने गरेका थिए। बाँसुरी बेच्ने साथीहरु पनि थिए। उनलाई बाँसुरीको धुन मन पर्ने भएकाले पनि बाँसुरी बेच्न मन लागेको बताउँछन्।
‘सुरुसुरुमा बाँसुरी बजाउन आउँदैनथ्यो,’ उनी भन्छन्, ‘त्यही भएर व्यापार पनि खासै हुँदैनथ्यो। पछि साथीहरुसित बजाउन सिकेँ। त्यसपछि थाहा भयो, बाँसुरीको धुन सुनाएपछि, मान्छेहरु किन्ने रहेछन्। ’