धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० लागि १ अर्ब ८३ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट आठौं नगर सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन्।
आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको हो।
चालू आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३.३० प्रतिशत रकम वित्तीय प्रगति रहेको उपमहानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा १ करोड ६ लाख ३१ हजार ८ सय ९७ रकम थप गरी बजेट प्रस्तुत गरेको छ।
उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तारन्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तारन्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ।
उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट सामाजिक विकासतर्फ विनियोजन गरेको छ। उपमहानगरपालिकाले सामाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार विनियोजन गरेको छ। यो कुल बजेटको ४०.६४ प्रतिशत हो। उपमहानगरपालिकाले आर्थिक विकास तर्फ कुल बजेटमध्ये १४ करोड ४२ लाख ११ हजार (७.८४ प्रतिशत), पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख ५२ हजार (२४.५३ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात करोड ७३ लाख २१ हजार (४.२ प्रतिशत) र कार्यालय सञ्चालनतर्फ ४१ करोड ८५ लाख सात हजार (२२.७६ प्रतिशत) विनियोजन गरेको छ।
उपमहानगरपालिकाले सामाजिक सुरक्षाबाट ५० करोड, सडक बोर्ड नेपालबाट एक करोड, अन्य कार्यक्रम अनुदानबाट एक करोड र नगरपालिकाभित्र कार्यक्रम संचालन हुने विभिन्न संघसंस्थाबाट १७ करोड ११ लाख ६२ हजार रकम गरी ६९ करोड ११ लाख ६२ रकम आगामी आर्थिक वर्षमा आयव्ययतर्फ थप हुने अनुमान गरेको छ ।
उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ। ‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाइएको छ,’ बजेट वक्तव्यमा भनिएको छ।
उपमहानगरपालिकाले विकास खर्चलाई चालूतर्फमा परिवर्तन गर्न नपाउने, खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक स्रोतले चालू खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने उल्लेख छ।
उपमहानगरपालिकाले साधन स्रोतको सीमितताले गर्दा उल्लिखित नीतिहरु र नगरबासीले माग गरी पठाएका कार्यक्रमहरु पूर्ण रुपमा आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको उल्लेख गरेको छ। बजेट वक्तव्यमा भनिएको छ, ‘सम्बोधन हुन नसकेका त्यस्ता कार्यक्रमलाई पछि प्रकाशित हुने रातो किताबमा ‘योजना बैंक’ का रुपमा प्रकाशित गरी क्रमशः लागू गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौं।’
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ८८ लाख ४६ हजार कर संकलन गर्ने अनुमान गरेको छ।