काठमाडौं- काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगर उपप्रमुख सुनीता डंगोलले आगामी आर्थिक वर्षको लागि चालू आर्थिक वर्षभन्दा साढे ६ अर्ब रुपैयाँ बढाइएको बजेट नगरसभामा प्रस्तुत गरेकी हुन्।
महानगरले आर्थिक विकास क्षेत्रका लागि ५० करोड २१ लाख बजेट विनियोजन गरेको छ। महानगर कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासको लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ। यो कुल बजेटको झन्डै आधा हो।
सामाजिक विकास क्षेत्रमा खर्च गर्नका लागि महानगरले १ अर्ब ६२ करोड विनियोजन गर्दा सुशासन तथा अन्तर्सम्बन्धको लागि ४ अर्ब ४६ करोड रकम छुट्याएको छ।
आगामी आवमा २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।