काठमाडौं- उद्योगी व्यवसायीका छाता संगठन उद्योग वाणिज्य महासंघ र उद्याग परिसंघले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने तथा नयाँ र फरक सोचसहित आएका स्टार्टअपलाई प्राथमिकता दिन थालेका छन्। महासंघ र परिसंघ दुवैले स्टार्टअपलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम सुरु गरेका छन्।
बिहीबार उद्योग वाणिज्य महासंघले अगाडि सारेको '५० बिजनेस ५० लगानीकर्ता' कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्तासमक्ष २० युवा उद्यमीले आफ्नो स्टार्टअप उद्यमबारे प्रस्तुति दिए। महासंघको यस कार्यक्रमअन्तर्गत मुरारका समूह (पशुपति मुरारका) ले रासन टेक नामक स्टार्ट अपमा लगानी गर्ने घोषणासमेत गरेको छ। कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताको सहभागिता थियो।
मुलुकभित्र नवीनतम सोच भएका स्टार्टअपलाई लगानीकर्ता जुटाइदिने उद्देश्यले महासंघले यो कार्यक्रम सुरु गरेको हो।
महासंघ आफैंले आवेदनमार्फत छानेका र महासंघको सहकार्यमा व्यावसायिक संघसंस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपले बिहीबारको पिचिङ सेसनमा भाग लिएका थिए। सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि तथा अन्य सेवासँग सम्बन्धित बिजनेस योजना प्रस्तुत भएका थिए।
पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड आन्टरप्रेनरसिप सर्भिस (नेम्स), अंशु टेक्नोलोजी प्रालि, लुक्ला आउटडोर, पिक एन्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्विट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्किल, ह्यापी माइन्ड्स, टेका, बोआफ्रेस, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिसले भाग लिएका थिए।
महासंघले स्टार्टअप एन्ड इनोभेसन समिति गठन गरी यस क्षेत्रको प्रवर्द्धनमा काम गर्दै आएको बताएको छ। महासंघको ‘भिजन पेपर’ले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ। एक वर्षभन्दा अघिदेखि सञ्चालनमा रहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय कार्यक्रममा योग्य मानिने महासंघको भनाइ छ।
कार्यक्रमले नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपलाई लगानी जुटाउन सघाउने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए।
महासंघको यस किसिमको प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति रञ्जित आचार्यको दाबी छ। समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेस गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको उनले बताए।
निजी क्षेत्रको अर्को छाता संस्था उद्योग परिसंघले पनि यसै साता नवप्रवर्तन लक्षित कार्यक्रम आयोजना गर्दैछ। परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्चले यही शनिबार नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागेको छ। कार्यक्रममा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष र नेपालस्थित भारतीय राजदूतावासको समेत साथसहयोग छ।
नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र त्यस्ता व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्थापित गराउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको परिसंघले जनाएको छ। स्टार्टअप मेलामा लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गर्न जेठ २८ सम्मको समय दिइएकोमा देशभरबाट ३ सय वटा प्रस्ताव आएको परिसंघले जनाएको छ।
तीमध्येबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइने र पुँजी लगानीका लागि आह्वान गरिनेछ। स्टार्टअप फेस्टमार्फत ५० करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आउने विश्वास परिसंघको छ।