काठमाडौं- नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले तीन मोडमा कुदाउन मिल्ने मोटरसाइकल भित्र्याएको छ। जगदम्बाले बिहीबार एक कार्यक्रम आयोजना गरी 'ट्रिपल मोड'मा कुदाउन मिल्ने टीभीएस कम्पनीको अपाचे मोडलमा १६० सीसीको फोरभी आरटीएफआई मोटरसाइकल सार्वजनिक गरेको हो। तीन मोडमा कुदाउन मिल्ने गरी तयार गरिएको मोटरसाइकल पहिलोपटक आफूहरुले नेपाल भित्र्याएको जगदम्बाको दाबी छ।
यो मोटरसाइकलमा वर्षाको समयमा कुदाउन 'रेन' मोड, सहरी क्षेत्रका लागि 'अर्बान' र 'स्पोर्ट' गरी तीन मोड छन्। चिसो सडक तथा पानी परेको समयमा 'रेन मोड' सक्रिय बनाएर कुदाउन मिल्ने मोटरसाइकल साधारण बाटोका लागि 'अर्बान' मोडमा र बढी स्पिड लिएको बेला स्पोर्ट मोडमा लैजान सकिन्छ। रेन मोडमा चिप्लिने सम्भावना कम हुने र बढी स्पिडका लागि स्पोर्ट मोडमा जान सकिनेछ।
अपाचे आरटीआर १६० फोरभी नेपाली बजारमा केही पहिला नै उपलब्ध थियो। अब भने बीएस-६ भर्सनमा थप विशेषताका साथ नयाँ भर्सनको मोटरसाइकल ल्याइएको हो।
मोटरसाइकलमा ब्लुटुथको सुविधा पनि राखिएको छ। चालकले आफ्नो स्मार्टफोनलाई यो मोटरसाइकलसँग कनेक्ट गरी मोबाइलमा प्राप्त हुने नोटिफिकेसन र एसएमएस देख्न सक्नेछन्।
१५९.७ सीसीमा उपलब्ध हुने यो मोटरसाइकल इन्जिनमा फोर स्ट्रोक, फोर भल्भ छ। स्पोर्ट मोडमा जाँदा १७.५ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्नेछ। मोटरसाइकलमा ५ स्टेपको गियरबक्स छ। यसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ।