आइतबार, असोज ११, २०८३

रोकिएन नेप्सेमा पहिरो

बजार सुधारका लागि लगानीकर्ता आन्दोलित रहँदा नेप्से झनै ओरालो लागेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं–  सबल अर्थतन्त्रको सूचक सेयर बजारमा निरन्तर गिरावट आएपछि सरकारले बजार सुधारका लागि समिति नै गठन गरिसकेको छ। सेयर बजार सुधारको माग गर्दै लगानीकर्ता अनशनमा समेत बसेका छन्।

तर साताको पाँचौं कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ४५. २५ अंकले घटेको छ।

बिहीबार नेप्से परिसूचक १ हजार ८४८.२८ बिन्दुमा झरेको हो। कारोबारमा आएका २३७ कम्पनीको ५० लाख  ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४.९२ मा खरिब बिक्री भएको छ।

बजार सुधारका लागि लगानीकर्ता आन्दोलित भइरहँदा नेप्से झनै ओरालो लागेको छ। ३२०० मा पुगेको बजार १ हजार ८४८ बिन्दुमा झर्दा लगानीकर्ताले खर्बौं गुमाइसकेका छन्।

बिहीबार दिन कारोबारमा आएका २३७ कम्पनीमध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आँधीखोला लघुवित्तको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र सिवाइसी नेपाल लघुवित्तको ९.९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो। आँधीखोला लघुवित्तको सेयर मूल्य ९६०. ७० र सिवाइसी नेपाल लघुवित्तको ६०५.३० पुगेको छ। 

बिहीबारको कारोबारमा शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। नेप्सेमा बिहीबार सर्वाधिक सेयर कारोबार कुमारी बैंकको भएको छ। बैंकको ९ करोड ५३ लाख बराबरको शेयर खरिद बिक्री भएको हो।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचक घटेसँगै नेप्से परिसूचक ओरालो लागेको छ। यीमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको समूहगत परिसूचक ४.११ प्रतिशतले घटेको छ।

प्रकाशित: Jun 23, 2022| 16:43 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्