सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगन्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

वीरगन्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्‍ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

वीरगन्‍ज- देशकै प्रमुख व्यापारिक नाका वीरगन्‍जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्‍ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ।

National life

 गत आवको साउनदेखि जेठसम्ममा वीरगन्‍ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो।

चालु आवको सोही अवधिमा वीगरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक खर्ब ५३ अर्ब ३६ करोड सात लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलोलिटर इन्धन आयात भएको छ। यो गत आवभन्दा १०६.२७ प्रतिशत बढी मूल्यको ७८.५१ प्रतिशत बढी इन्धन आयात भएको हो।

 त्यस्तै वीरगन्‍ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्यासको आयातमा समेत करिब आठ प्रतिशतले वृद्धि भएको छ। गत आवमा दुई लाख ३९ हजार ६३८ मेट्रिकटन ग्यास आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार ५०० मेट्रिकटन बढी अर्थात् दुई लाख ५८ हजार १५० मेट्रिकटन बढी आयात भएको वीरगन्‍ज भन्सार कार्यालयले जनाएको छ।

वीरगन्‍ज नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात वृद्धि भए पनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ। गत आवमा ११ हजार २२० किलोलिटर इन्धन आयात भएको तुलनामा चालु आवमा तीन हजार ३६० किलोलिटर कम अर्थात् सात हजार ८६० किलोलिटर मात्र आयात भएको वीरगन्‍ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

Shivam cement

उनले वीरगन्‍ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको जानकारी दिए। गत आवमा रु ५४ अर्ब ५३ करोड ९२ लाख राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको गुप्ताले बताए।

नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपिजी ग्यासको आपूर्ति वीरगन्‍ज नाकाबाटै हुने गरेको छ। 

प्रकाशित: Jun 23, 2022| 05:00 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्