भक्तपुर– ‘कुनै समय भक्तपुर नगरपालिका अरू नगरको खुला शौच गर्न ठाउँको रूपमा चिनिन्थ्यो रे! आज यही भक्तपुर नगरपालिका सांस्कृतिक सहर मात्र होइन, सरसफाइको नमुना सहर बनाएका छौं,’ भक्तपुर नगरपालिका स्यानिटेसन उपशाखा प्रमुख दिलीप सुवालको भनाइ हो, यो।
सुवाल वडा–४ का वासिन्दा हुन्। उनी आफ्नो घरमा उत्पादन हुने फोहोर कुहिने–नकुहिने गरी छुट्टाछुट्टै संकलन गर्छन्। कुहिने फोहोरलाई करेसाबारीमा खन्याउँछन्। नकुहिने फोहोरमध्ये पनि पुनप्र्रयोग गर्न सकिने छुट्याएर प्रयोग गर्दै आएका छन्।
नगरपालिकामा विगत साढे दुई दशकदेखि फोहोर व्यवस्थापनमा खटिँदै आएका उनको आग्रह हुने गर्छ– सकिन्छ भने कम फोहोर गरौं, उत्पादित फोहोर पनि पुनप्र्रयोग गर्ने बानी बसालौं।
नगरपालिकाले फोहोरबाट उब्जिएको मल प्रयोग गर्न कौसी खेतीका लागि तालिम दिने गरेको छ। सोहीअनुसार अहिले नगरबासी कौसी खेतीमा आकर्षित हुन थालेका छन्।
झन्डै १८ हजार बढी घरधुरीको बसोबास रहेको भक्तपुर नगरमा दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुल्ने गरेको छ। बाँकी घरघरमै मलको रूपमा नगरबासीले प्रयोग गरिरहेका छन््। २८ टनमा ६५ प्रतिशत कुहिने फोहोर हुन्छ। यद्यपि नकुहिने फोहोर धेरै हुने नगरपालिका बताउँछ।
फोहोर संकलनदेखि व्यवस्थापनका लागि नगरपालिकाले १४० कर्मचारी खटाउँदै आएको छ। स्यानिटेसन उपशाखाबाट फोहोर व्यवस्थापनको काम हुन्छ। वडा समितिअनुसार कर्मचारी काम गरिरहेका हुन्छन्। प्रत्येक वडामा क्षेत्रफलअनुसार ५ देखि ८ जनासम्म सरसफाइ कर्मचारी तोकिएको हुन्छ। फोहोर उठाउने काम दैनिकजसो हुन्छ। कहिल्यै विराम लाग्दैन।
‘हामीले बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १२ देखि ४ बजेसम्म पनि फोहोर उठाइरहेका हुन्छौं’, सुवाल भन्छन्, ‘विगतमा सय स्थानभन्दा बढी ठाउँमा फोहोर संकलन केन्द्र थिए। त्यसलाई घटाएर अहिले १० जति बनाएका छौं। जति पटक फोहोर उठायो, फेरि थुपार्छन्। दिनभरि फोहोर भइरहने भएकाले अब यसलाई पनि घटाउने सोच नगरपालिकाको छ।’
झन्डै १८ हजार घरधुरीको बसोबास रहेको भक्तपुर नगरपालिकामा संकलन हुने दैनिक ३० टनमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुलेर कुहिने–नकुहिने छुट्याउन थालेपछि नगरभित्रका पाखाबारी र कौसीमा मलको रूपमा प्रयोग हुँदै आएको छ।
नगरका पुराना बस्ती र भूकम्पपछि बढेको नयाँ बस्ती दुई समूह बाँडेर फोहोर संकलन गरिँदै आएको सुवाल बताउँछन्। हरेक दिनजसो पुराना बस्तीबाट फोहोर संकलन गरिन्छ। कुहिने–नकुहिने अलग–अलग छुट्याएर लिइने फोहोर बोक्ने ट्रकमा दुई भागमै बाँडेर बोक्ने गरिन्छ। बस्तीबाट उठाएको फोहोर महेश्वरीस्थित अस्थायी ‘टन्ससेन्टर’मा ल्याइन्छ। त्यसपछि कुहिने फोहोरलाई महेश्वरीबाट वडा–८ लर्केमा कम्पोस्ट मल बनाउन लगिन्छ।
नयाँ बस्तीमा दुई मिनिट्रक र तीन वटा पिकअप भ्यान फोहोर संकलनका लागि प्रयोग गरिँदै आएको छ। एक दिन बिराएर संकलन हुने फोहोरमध्ये नयाँ बस्तीमा तुलनात्मक रूपमा बढी उत्पादन हुने गरेको छ। नगरपालिकाले फोहोर संकलन गर्दा घरमै मल बनाउने र पुनप्र्रयोग गर्ने विधिबारे समुदायलाई भेला पारेर जनचेतनामूलक सन्देशसमेत दिँदै आएको छ।
नगरपालिकाले कुहिने फोहोरबाट बनाउने कम्पोस्ट मल एक ट्रयाक्टरको २ सय रुपैयाँमा बिक्री गरिरहेको छ। भक्तपुरमा बाक्लिँदै गएका बस्तीसँगै मल बनाउने क्रममा उत्पन्न हुने दुर्गन्धका कारण स्थानीयले गुनासो गरे। गन्ध कम गर्न अहिले गन्धरहित नयाँ विधि प्रयोगको अभ्यास भइरहेको छ।
‘गन्धरहित नयाँ टोकजाय प्राकृतिक विधि प्रयोग गर्न थालेका छौं। एक महिना भयो, यसको नतिजा यही साता आउँछ। भोलिबाट बक्स कम्पोजिटको काम सुरु गर्छाैै। हामी एउटा मात्र प्रविधि प्रयोग गर्दैनौं। सबै तरिकाबाट फोहोर व्यवस्थापन गर्ने योजना अगाडि बढाएका छौं,’ सुवाल भन्छन्।
फोहोर व्यवस्थापनमा दीर्घकालीन योजनासहित अगाडि बढेपछि भक्तपुर नगरभित्रका सडक, गल्लीको स्वरूप फेरिँदैछ, फोहोरलाई आम्दानीको गतिलो माध्यम बनाउन सफलता पछ्याउँदैछ भक्तपुर नगरपालिका।
अहिले नगरले भूगोलअनुसारका प्रविधिको अनुसन्धान गरिरहेको उनको भनाइ छ। सबै फोहोर एकै ठाउँ थुपार्दा धेरै गन्ध आउने समस्या कम गर्न विभिन्न ठाउँमा जग्गा भाडामा लिने काम नगरपालिकाले गर्दै आएको छ।
नयाँ प्रविधि प्रयोगको अभ्यास भर्खरै सुरु गरे पनि फोहोर व्यवस्थापनमा कम्पोस्ट मल प्रयोग पुरानो हो। नगरले वार्षिक ८ करोड रुपैयाँ बजेट फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ। फोहोर संकलनबापत नगरले मासिक प्रतिचुलो ५० रुपैयाँ, विद्यालय होटल, रेस्टुराँ र संस्थाबाट १०० देखि ५०० सम्म उठाउने गरेको छ। मलबाट धेरै कम आम्दानी हुन्छ। नकुहिने फोहोर बिक्री गरेर ३० देखि ४० हजार आम्दानी गर्ने योजनामा नगरपालिका अगाडि बढेको छ।
यद्यपि नगरपालिभित्रका चार वटा ठूला अस्पताल र एक औद्योगिक क्षेत्रबाट उत्पादन हुने सामान्य प्रकृतिका फोहोर मात्र नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ। बाँकी फोहोर अस्पताल र उद्योग आफैंले व्यवस्थापन गर्दै आएका छन्।
नगरपालिकाले १२ टन जति पुनप्र्रयोग र बिक्री नहुने फोहोरलाई सल्लाघारी खोलाबगर मापदण्डमा पर्ने जग्गामा खाडल खनेर ‘डिस्पोज’ गर्दै आएको छ। बाढी डुबानमा पर्ने जग्गामा फोहोरले सम्याउने गरिएको छ। यो डम्पिङ सिस्टम उपयुक्त उपाय भने नभएको सुवाल सुनाउँछन्। यसको दीर्घकालीन समाधान खोज्ने प्रयास जारी छ। नगर प्रवक्ता एवं सूचना अधिकारी दामोदर सुवाल भन्छन्, ‘कबाडीसँग पनि छलफल गर्दै छौं। टायल र सडक पिच गर्ने विधि प्रयोगबारे पनि योजना बनाउँदै छौं।’
नगरपालिकामा महिनाको पहिलो दिन र १५ गते सार्वजनिक स्थलमा नगरका कर्मचारीसँगै, विद्यालय, सेना, संघ–संस्था र स्थानीय मिलेर सरसफाइ हुँदै आएको छ। अहिले विद्यालयमा हुने फोहोर कसरी विद्यालयमै व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे विद्यालयलाई तालिम दिने काम भइरहेको सुवाल बताउँछन्।