बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका उनीहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।
जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका–६ का ४५ वर्षीय पहलमान पासीलाई जिल्ला प्रहरी बाँकेको टोलीले पक्राउ गरेको हो।
जिल्ला अदालत बाँकेबाट विसं २०७२ कात्तिक १ गतेको फैसलाबाट दोषी ठहर भएर जेल सजाय सुनाइएका लामो समयदेखि फरार रहँदै आएका पासीलाई नेपाल भारत सीमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
त्यस्तै बाँके प्रहरीले लेनदेन मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेबाट विसं २०७९ जेठ ५ गते राप्तीसोनारी गाउँपालिका–४ का ४८ वर्षीय लुराम थारूलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै एक वर्ष जेल सजायको फैसला सुनाएको थियो।
जेल सजायको फैसला आएयता फरार रहँदै आएका थारूलाई आइतबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो। हातहतियार तथा खरखजाना र लेनदेन मुद्दाका फरार प्रतिवादी पासी र थारूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।