काठमाडौं– सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्र ३२ सडक योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। सहरी विकास तथा भवन निर्माण विभागले आइतबार सूचना जारी गरी ती योजना आगामी वर्षको कार्यक्रममा समावेश नगरिएकाले चालू आवभित्र निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन जारी गरेको हो।
सूचनामा विभागले ३२ सडक योजनाको खरिद सम्झौता गरी हाल निर्माणाधीन रहेका योजनाको निर्माण कार्य सन्तोषजनक नदेखिएको र आगामी वर्षको बजेटमा समावेश पनि नगरिएकाले यस्तो निर्देशन गरिएको जनाएको छ।
निर्माण व्यवसायीले चालू आवभित्र निर्माण सम्पन्न गरी फरफारक गर्नसमेत विभागीय निर्देशन दिइएको मन्त्रालयले बताएको छ। सम्पूर्ण निर्माण व्यवसायीलाई सम्झौता अवधिभित्रै निर्माण सम्पन्न गरी निर्धारित समयमा भुक्तानीका लागि अन्तिम बिल पेस गर्न भनिएको छ।
तोकिएको समयभित्र निर्माण सम्पन्न नभए भुक्तानी नहुने र सार्वजनिक खरिद सम्झौताबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।
निर्माण सम्पन्न गर्नुपर्ने योजनामा सडकदेखि भवन निर्माणसम्म रहेका छन्। निर्माण सम्पन्न गर्नुपर्ने योजनामा सार्क सेक्रेटरी भवन, कालीमाटी करिडोर, साँखु–नगरकोट सडक विस्तार, सिर्जनानगर–हनुमन्ते पुललगायतका योजना रहेका छन्।
यस्तै, गोकर्ण–माइती नेपाल–संन्यासीटार–देभस्थल–भीमसेनथान सडक, फेदीखोला–विचोरेथोक–बतासेडाँडा, झाउखेल–बोपोपुल–लिलिटोल–इँटाभट्टा सडक, ओखेनी–खत्रीगाउँ–रिशिखत्रीको घर सडक, ज्योतिलिंगेश्वर–दोल्ची– नारायणटार–डिही न्यौपाने गाउँ सडक रहेका छन्।