काठमाडौं– भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन भएको छ। ७५ वर्षीय राईको आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो।
पाँच दिनअघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो। तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिएकोमा चिकित्सकहरुले विराटनगर रिफर गरेका थिए।
करिब ३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए। दुई वर्षअघि पत्नि उर्मिलाको निधन भएपछि उनी एक्लो भएका हुन्। राई पेटसम्बन्धी गम्भीर रोगबाट पीडित थिए।
२९ वर्षदेखि दमक–८ स्थित खगेन्द्र गुरागाईंको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले आवासको व्यवस्था गरिदिएको थियो। कुनै बेला भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा आफ्नै इच्छाले नेपाल आएका थिए। ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए। राईका सन्तान छैनन्।
डा. राईको बारेमा हाम्रो कथा युट्युब च्यानलले 'माटोको कथा' शीर्षकमा भिडियो सामग्री बनाएको थियो।