सर्लाही- सर्लाहीमा कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ। दुर्घटनामा थप सात जना घाइते भएका छन्।
न्वारन(छठियार)को भोज खाएर फर्किने क्रममा कार दुर्घना हुँदा रौतहटको वृन्दावन नगरपालिका-४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घनामा परेको बिआर ०५ एआर५१३७ नम्बरको भारतीय कार अनियन्त्रित भई छठीघाट पुलबाट १५ फिट तल खसेको थियो। कारमा चालकसहित ९ जना सवार थिए। सर्लाहीको धनकौन गाउँपालिका वडा नम्बर ५ स्थित छठी घाट पुलमा छतौनाबाट छठियारको भोज खाएर रौतहट वृन्दावन हरैयातर्फ फर्किने क्रममा उक्त कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनापछि कारका चालक फरार छन्। कारमा सवार अन्य सात जना घाइतेको बरहथवास्थित एडभान्स संजीवी अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा वृन्दावन नगरपालिका ४ हरैयाका ७० वर्षीय महेन्द्र राय, सोही ठाउँका ४ वर्षीय अमित कुमार यादव, ६ वर्षीय अनिकेत यादव, १० वर्षीय गौतम कुमार यादव, १४ वर्षीय मिरा कुमारी यादव, १७ वर्षीय शोभा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।
घाइतेमध्ये ७० वर्षीय महेन्द्र यादवबाहेक ६ जनालाई समान्य चोट लागेको छ। महेन्द्रको भने शरीरका विभिन्न भागमा चोट लाग्नुको साथै तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ।