बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्तर अमेरिकाका दुई सहरमा नेपाली कला, साहित्य र संगीत मेला

उत्तर अमेरिकाका दुई सहरमा नेपाली कला, साहित्य र संगीत मेला

‘समास फाउण्डेसन’को आयोजनामा उत्तर अमेरिकी देश संयुक्त राज्य अमेरिका र क्यानडाका दुई ठूला सहरमा नेपाली कला, साहित्य र संगीत मेला हुने भएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

अमेरिका- ‘समास फाउण्डेसन’को आयोजनामा उत्तर अमेरिकी देश संयुक्त राज्य अमेरिका र क्यानडाका दुई ठूला सहरमा नेपाली कला, साहित्य र संगीत मेला हुने भएको छ।

National life

न्युयोर्क राज्यको बफलोमा जुलाई २ र ओन्टारियोको विन्डसरमा अगस्ट १३ का दिन मिस्टिक ‘एकोज २’ आयोजना हुने आयोजकले जनाएको छ। विश्वभर छरिएका नेपालीभाषी तथा नेपाली मूलका समुदायको कला–संस्कृतिलाई अरू देशका संस्कृतिसँग परिचय तथा अन्तरघुलन एवं सहकार्य गर्ने उद्देश्यले सञ्चालित संस्थाले आयोजना गर्ने कार्यक्रम सन् २०१९ मा न्युयोर्कबाट सुरु भएको हो। 

सुरुमा दुई सय ५० दर्शकअघि आयोजित कार्यक्रम अहिले भने १२ सय दर्शक क्षमता भएको हलमा आयोजना गर्न लागिएको छ भने बफलोबाट क्यानडामा समेत यसलाई विस्तार गरिएको छ। कोभिडका कारण तीन वर्षपछि आयोजना हुन लागेको दोस्रो संस्करणमा नेपाली तथा अन्य देशका गरी ३५ कलाकारले प्रस्तुति दिनेछन्, जसमा ललितकला, संगीत तथा कविताको मिश्रण रहनेछ। प्रस्तुतिका लागि नेपाली साहित्यकार, संगीतकार तथा कलाकारले अन्य देशका कलाकारहरूसँग समेत सहकार्य गर्नेछन्।

कार्यक्रममा प्रस्तुत गरिने कला, साहित्य तथा संगीतको प्रस्तुतिका लागि खास विषयवस्तु नतोकिए पनि आप्रवासीहरूको भावना समेटिने तामाङले बताए। ‘यो कार्यक्रम समस्त नेपालीभाषीको प्रतिनिधित्व गर्ने कार्यक्रम त हो नै, तर सँगै फरक फरक अनुभव भएका आप्रवासीहरूको भावना पनि समेट्ने कार्यक्रम हो’, तामाङले भने, ‘यहाँ भुटानबाट लखेटिएका नेपालीभाषीदेखि नेपाल तथा बाहिर बसोबास गर्ने नेपाली मात्र छैनौं, मध्यपूर्वदेखि युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकासम्म ख्याति पाएका कलाकारले आफ्नो भूगोल, समुदाय तथा व्यक्तिगत अनुभवमा आधारित कला प्रस्तुति दिनेछन्।’ 

करिब साढे दुई घण्टाको कार्यक्रममा अर्कैष्ट्रामा कविता प्रस्तुत हुनेछ भने ललितकलाका कलाकारले कवितामा आधारित भई दर्शककै सामुन्ने कला प्रस्तुत गर्नेछन्, जससँगै विभिन्न देशका विभिन्न संस्कृति जनाउने वाद्यवादन पनि पृष्ठभूमिमा प्रस्तुत हुनेछन्।

Shivam cement

यसरी फरक भूगोल र संस्कृतिमा हुर्किएका संसारभरका कलाकारलाई एकसाथ प्रस्तुत गर्नुमा सानो ठाउँ भइकन पनि विविध संस्कृति भएका नेपालीभाषीको पहिचानलाई बाहिरी विश्वसँग परिचय गराउने मात्र नभई भविष्यमा हुनसक्ने सहकार्यको सम्भावनामा समेत लोभ लागेको तामाङको भनाई छ। 

‘मैले नेपाली समुदायमा आधारित थुप्रै कार्यक्रम गरिरहँदा हाम्रा संस्कृतिका अंगहरू हामीसँग मात्रै सीमित भए कि भन्ने भन्ने लागिरहन्थ्यो, आफैँ संगीतकाका विद्यार्थी तथा व्यावसायिक कार्यक्रम सञ्चालकसमेत रहेका भुटानी शरणार्थी अभियन्ता तामाङले भने, ‘प्रवासमा हामीले हाम्रो पहिचान जोगाउन सक्दो प्रयास गरिरहेका छौं र एकखाले सन्तुष्टि लिइरहेका पनि छौं। तर मलाई विलकुलै फरक भूगोल र संस्कृतिमा हुर्किएका कलाकारहरूसँग सहकार्य गर्न मन थियो, जसले हामीसँग भएका भावना तथा अनुभव उनीहरूसम्म र उनीहरूको हामीसम्म आओस्। मलाई के लाग्छ भने यसको असर कार्यक्रम सकिनेबित्तिकै देखिँदैन। यसले छोड्ने असर सूक्ष्म हुन्छन्, जसको गन्ती तुरुन्तै नहुनसक्छ तर भविष्यमा दिगो भएर रहन सक्छ।’

भुटानका पहिलो गायक भनेर चिनिने गायक प्रताप सुब्बालाई सम्मान गरिने कार्यक्रममा कवि नवराज पराजुली, गायक प्रताप सुब्बा, जगदीश समाल, मञ्जु लामा, ईरिक गिरी, रूपेश ढुंगाना, नदीश, लीला निशा, उमेश आचार्य, नवीन प्राचीन, आइती राई, श्याम नेपाली, सुरेशचन्द्र प्रधान, मुस्कान बलम्पाकी, एण्ड्रयु बोर्कोब्स्की, युकी नुमाता रेन्सिक, नवीन श्रेष्ठ, सर्वजीत राई, लोरा जे (म्युजिक कन्डक्टर) र बफ्लो स्ट्रिङ वर्क्सका वाद्यवादकहरूको संगीत तथा कविता प्रस्तुति रहने कार्यक्रममा ललितकलातर्फ थ्रेट आर्ट स्टुडियोको तर्फबाट देउकुमार राई, सन लिम्बू, खड्ग बल, तिल्चन कालिकोटलगायतका कलाकारहरूको सहभागिता रहनेछ।

प्रकाशित: Jun 19, 2022| 09:37 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।