काठमाडौं- ‘नानीहरू गुरुङ ड्रेस नलगाउने...?’ हरेक दिनजसो, हरेक नयाँ मान्छे (पर्यटक) लाई यही शब्द भन्ने गर्छिन्, दिलकुमारी गुरुङ।
घान्द्रुक बस्तीको माथिल्लो भाग अर्थात् बस्ती सकिएर जंगल आउनुभन्दा ३÷४ घर तल, उकालो लाग्दै गर्दा बायाँपट्टिको घरको पिंढीमा बसिरहेकी हुन्छिन्, दिलकुमारी।
घान्द्रुक फेरो मार्न आउने पर्यटकलाई गुरुङ संस्कृति झल्किने पोसाक भाडामा दिन्छिन् र केही रकम संकलन गर्छिन्। एक सेट पोसाकको ११० रुपैयाँ नगदै लिन्छिन्। त्यो रकमबाट उनले आफ्नो घरखर्च मात्रै चलाउँदिनन्, वृद्धाश्रमलाई आर्थिक सहयोग पनि गर्छिन्।
‘अरूले एक सेट कपडाको १०० रुपैयाँ मात्रै लिन्छन्, म १० रुपैयाँ बढी लिन्छु’, उनले भनिन्, ‘त्यो रकमबाट मैले ९० रुपैयाँ राख्छु । बाँकी पाहुनाको १० र मेरो २० गरी २० रुपैयाँ वृद्धाश्रमलाई दिन्छु।’
उनी करिब ३५ वर्षअघि घरजम गरेर घान्द्रुक आएकी थिइन्। आफू ३० वर्षकी हुँदा १० वर्ष कान्छो तन्नेरीसँग उनको विवाह भएको हो।
उनले पर्वतको मोदीवेणी ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग दिँदै आएकी छन्। पछिल्लो पटक गत फागुनमा उनले आश्रमलाई ५० हजार रुपैयाँ सहयोग गरेकी थिइन्। कोभिडको समय आश्रममा समस्या भएपछि उनले निरन्तर आर्थिक सहयोग गर्न थालेकी हुन्।
आश्रम उनको माइती नजिकै पर्छ। उनी करिब ३५ वर्षअघि घरजम गरेर घान्द्रुक आएकी थिइन्। आफू ३० वर्षकी हुँदा १० वर्ष कान्छो तन्नेरीसँग उनको विवाह भएको हो। ‘माइतकी माइली छोरी हुँ। बिहे गर्दिनँ भनेर बसेकी थिएँ,’ उनले भनिन्, ‘पछि घरपरिबारबाट बिहे गर्नुपर्छ भनेर दबाब आयो। मेरो पनि मन बदलिएर बिहे गर्नुपर्छजस्तो लाग्यो। बिहे गरें।’
उनले आफ्नै मामाको छोरासँग लगनगाँठो कसिन् । यद्यपि श्रीमान् अपांगता छन्, बोल्न र सुन्न सक्दैनन्। ‘सानै उमेरको हुँदा मामा, माइजू बित्नुभयो । हजुरआमाको काखमा हुर्किनुभएको रे। मलाई पनि खासै सम्झना छैन,’ उनले भनिन्, ‘४÷५ कक्षा पढ्ने बेला उहाँलाई ज्वरो आएछ। ज्वरोकै कारणले पक्षघात भएछ। पछि उपचार गर्दागर्दा हातखुट्टा चल्ने भए तर सुन्न र बोल्न भने सक्नुहुन्न।’
अपांगताको सारथि बन्न मन मानेपछि बिहे गरेको गुरुङ सुनाउँछिन्।
उनी सुरुमा घान्द्रुक आउँदा त्यहाँका प्रायः मानिस लाहुरे थिए। स्थानीयको पेसा खेतीकिसानी नै हुन्थ्यो। हिमालको फेदी भएका कारण ६ महिना खेती गरेर ६ महिना खान पनि मुस्किल पथ्र्याे।
सुरुमा श्रीमान् र उनले सकेजति खेतीकिसानी गरेरै जीविकोपार्जन चलाए। समयसँगै उनका छोरा र छोरी जन्मिए। सन्तान जन्मिएपछि भने उनलाई आर्थिक जीविकोपार्जनमा सकस हुन थाल्यो। थप रकम जोहो गर्नुपर्ने बाध्यता आइलाग्यो।
घरखर्चकै लागि उनले खच्चडपालन थालिन्। यो कामका लागि सुन्न र बोल्न नसके पनि श्रीमान्को साथ रह्यो। त्यतिबेला उनले ९ वटा खच्चड पालिन्। नयाँबजार (घान्द्रुकबाट करिब १५ किलोमिटर तल) पसल तथा घरका लागि सामान ल्याउने काम उनका श्रीमान्ले गरे। उनले भनिन्, ‘पसलबाट अर्डर मैले लिन्थें, श्रीमान् नयाँबजारबाट सामान ल्याएर पसल–पसल छाड्नुहुन्थ्यो।’
करिब ७ वर्ष उनले खच्चडकै भरमा घरको आर्थिक भार धानिन्। त्यतिबेला त्यहाँ बाह्य तथा आन्तरिक पर्यटक अलिअलि आउन थाले। गुरुङ बस्ती भएको कारण जातीय पोसाकमाथि सोधीखोजीसमेत गर्न थाले। कतिले मागेरै पनि लगाउने गरेको उनी बताउँछिन्।
त्यसपछि उनले गुरुङ पोसाक धेरैजसो आफैं बुनेर र कतिपय किनेरै पनि ल्याएर राख्न थालिन्। घान्द्रुक आउने पर्यटकलाई भाडामा दिन सुरु गरिन्। ‘अहिले यहाँ पाइने धेरै कपडा किनेको हो । पहिला आफैं बुन्थें,’ उनले भनिन्, ‘उबेला एक सेट पोसाक र गहना ५० रुपैयाँमै पाइन्थ्यो।’
समयले कोल्टे फेर्दै गयो। घान्द्रुकमा विस्तारै पर्यटक आगमन बढ्दै गयो। खाना नखोजे पनि बास र तोङवाको खोजी हुन थाल्यो। उनलाई होमस्टे बनाउने विचार आयो।
गुरुङसेनीले होमस्टेको सपना मात्रै देखिनन्, साकार पनि पारिन्। उनले खच्चड बेचेर आएको आम्दानीबाट होमस्टे ठड्याइन्।
होमस्टे सञ्चालन गर्न धेरै खर्च आवश्यक नपर्ने र परिवार ठूलो भए बाहिरको मान्छे राख्नु नपर्ने उनको अनुभव छ।
‘गोरखाको बारपाकमा होमस्टे सञ्चालनमा आएको सुनेकी थिएँ। पछि माइती (कुस्मा) जाँदा सञ्चालन गर्न गाह्रो नहुने देखेपछि आँट गरेर आफैं सुरु गरें’, उनी विगत कोट्याउँछिन्।
होमस्टे बनाउँदा निकै सास्ती बेहोरेको उनी बताउँछिन्। ‘सिकर्मी÷डकर्मी, पैसा, सिमेन्टलगायत सबै सामान आफैंले जोरजाम गर्नुपर्दा असाध्यै दुःख भएको थियो,’ होमस्टेका लागि बनाइएका घर देखाउँदै भन्छिन्, ‘पहिला भैंसी बाँधेको भन्सार थियो। त्यसलाई भत्काएर घर बनाएँ। होमस्टेकै लागि कोठा निकालें।’
होमस्टे सञ्चालन गर्न धेरै खर्च आवश्यक नपर्ने र परिवार ठूलो भए बाहिरको मान्छे राख्नु नपर्ने उनको अनुभव छ। ‘परिवार ठूलो भए पाहुनालाई घरकै मान्छेले उम्काइन्छ। नत्र खाना बनाउनेसम्म १ जना कुक थपियो भने पुग्छ,’ उनले भनिन्, ‘घरमा जे छ, त्यही बनायो। पाहुना पनि खुसी, हामीलाई पनि सजिलो।’
होमस्टेका लागि बनाइएका घरमा अहिले बडेमाका ४ कोठा छन्। मिलेर बस्ने हो भने २५ जनासम्म अट्न सक्ने उनी बताउँछिन्। १५ जनासम्म भने सजिलै बस्न मिल्ने कोठा छन्।
सुरुमा होमस्टे कोठा ३ सय रुपैयाँमा पाहुनालाई दिए पनि अहिले भने प्याकेजमै उपलब्ध गराउन थालेको उनले सुनाइन्। साँझको खाना र बिहानको नास्तासहित होमस्टेमा बस्नेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिने गरेको उनी बताउँछिन्।
सोचेभन्दा राम्रोसँग होमस्टे सञ्चालन भएकाले खुसी छन्, उनी। ‘सिजनमा एक महिनामै ६ लाखसम्म कमाएकी छु,’ उनले भनिन्, ‘दुई लाख जति होमस्टेकै लागि सामान ल्याउँदा खर्च हुन्छ। बाँकी बचत गोजीमै राख्ने हो।’
होमस्टेमा बर्खाको समय भने पर्यटक खासै नआउने उनी बताउँछिन्। होमस्टे आउन बर्खामा सडक अप्ठेरो हुनुका साथै हिमाल देख्न पनि मुस्किल पर्ने उनको भनाइ छ।
विगत १५ वर्षदेखि घान्द्रुकमा होमस्टे सञ्चालन गर्दै आएकी छन्, दिलकुमारी। पाहुनालाई आमा समूह बोलाएर स्वागत, सत्कार र नाचगान गरेर उमंगको वातावरण सिर्जना गर्छिन्। युवाहरूलाई पनि होमस्टेमा आकर्षित गराइरहेकी छन्। आप््mनो होमस्टे बासमा युवकलाई घलेकी लगाइदिँदै भन्छिन्, ‘यो गुरुङ पोसाक मात्रै हैन नि बाबू। नेपालका सबैले पहिला–पहिला यस्तै कपडा लगाउँथे। यो नेपाली पोसाकै हो।’
उनले तीन वर्षदेखि पोसाक भाडामा दिने मात्रै काम गर्दै आएकी छिन्।
‘अब मलाई बुढ्यौलीले छोयो। पहिलाजस्तो काम गर्न सक्दिनँ,’ दिलमाया भन्छिन्। अहिले उनले आफ्नै काका ससुरालाई भाडामा दिएकी छन्, होमस्टे।
उनको घर पुराना डिजाइनमा सजिएको छ। वरिपरि रंगीचंगी फूल बगैंचा छन्। पुरानै डिजाइनको डोको, नाङलो, नाम्लो, चकटीले सजाएकी छन्, घरबास। पिंढीमा बसेपछि हिमालको चिसो हावाले होमस्टेलाई हान्छ।