शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हिमाल आरोहणमा सफलता चुमेकी फोटो पत्रकार

‘डेथजोन’ मानिने सकसपूर्ण हिमाल आरोहण गर्दा परिवार, आफन्त सबै बिर्सिएर जिन्दगीलाई सफल बनाएकी साहसी पूर्णिमाको हिमाल–मोह अचम्मको छ।
 |  आइतबार, असार ५, २०७९
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

आइतबार, असार ५, २०७९

triton college

काठमाडौं– ‘फोटो पत्रकारलाई प्राकृतिक सुन्दता हेर्न र त्यसलाई तस्बिरमा कैद गरिहाल्न मन पर्छ। विभिन्न स्थान फन्को मारेर फरक सुन्दरतालाई क्यामेरामा कैद गर्न रुचि लाग्छ,’ भर्खरै महिना दिनमै तीन अग्ला हिमाल आरोहण गरेर फर्किएकी पूर्णिमा श्रेष्ठ भन्छिन्, ‘सधैं नयाँ ठाउँ पुगेर राम्रा–राम्रा फोटो कसरी खिचौंजस्तो लाग्थ्यो। नयाँ–नयाँ स्थान घुम्ने र ट्रेकिङ गर्ने योजना बनाएकी थिएँ। तर हिमाल चढ्ने कुरा सपनामा पनि सोचेकी थिइनँ।’

यस वर्ष आरोहण गरेका तीन हिमालसहित पूर्णिमा नेपालका सात वटा आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो महिलामा दरिएकी छन्। उनले मे ५ मा कञ्चनजंघा, मे १६ मा ल्होत्से र मे २७ मा मकालु हिमाल आरोहण गरेकी हुन्। यी तीन वटै चुचुरा संसारकै अग्लो हिमालमा क्रमशः तेस्रो, चौथो र पाँचौं अग्ला शिखरमा पर्छन्। 

कञ्चनजंघालाई अरू हिमालभन्दा सुरक्षित रूपमा लिइने गरेको छ। यो हिमाल लामो भएकाले क्याम्पबाट समिट जान धेरै समय लाग्ने गरेको पूर्णिमा बताउँछिन्। हिमालको चुचुरोबाट हेर्दा जताततै हिउँ नै हिउँ देखिन्छ। धेरै उचाइ भएका हिमाल र सानो उचाइका हिमाल तलतल देखिने पूर्णिमा सुनाउँछिन्। 

नेपालमा आठ हजार मिटरमाथिका आठ वटै हिमाल छन्। चोयु हिमाल नेपालबाट चढ्ने व्यवस्था छैन। यो हिमाल आरोहण गर्न चीन पुग्नुपर्ने हुँदा यो योजनालाई अन्तिममा राखेको उनी बताउँछिन्। 

Metro Mart
vianet

भविष्यमा संसारका अग्ला सबै हिमाल चढ्ने योजना रहेको उनी सुनाउँछिन्। पाकिस्तानमा पाँच वटा र चीनमा एउटा आठ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल छन्। पूर्णिमा पर्वतारोहणलाई निरन्तरता दिने योजनामा छन्।

‘पछिल्लो पाँच वर्षमा व्यक्तिगत जीवन, व्यावसायिक जीवन, परिवार सबैलाई चटक्कै छाडेर हिमाल आरोहणमै समय खर्चिरहेकी छु,’ उनी भन्छिन्, ‘पर्वतारोहणबाहेक अन्य काम पनि गर्नु छ।’ तर पाकिस्तानमा रहेको संसारकै दोस्रो ठूलो के टू हिमाल र चोयु हिमाल चढ्ने धोको उनको छ।’

१० वर्षभन्दा लामो समयदेखि फोटो पत्रकारिता गर्दै आएकी पूर्णिमा भन्छिन्, ‘अफिसमा असाइन गरेअनुसार काम गर्नुपर्ने हुँदा खुलेर घुम्न पाएकी थिइनँ। २०१७ मा एभरेस्ट बेस क्याम्प पुगेपछि हिमाल आरोहणको यात्रा सुरु भयो।’ 

हरेक वर्षको मे २९ मा सगरमाथा पहिलो पटक सफल आरोहण गरेको सम्झनामा ‘एभरेस्ट डे’ मनाइने गरिन्छ। सन् १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सर्वप्रथम सगरमाथा शिखर चुमेका थिए। २०१७ को ‘एभरेस्ट डे’ मा आयोजना गरिएको म्याराथनमा पूर्णिमा पनि फोटो पत्रकारको रूपमा एभरेस्ट बेस क्याम्प पुगेकी थिइन्। 

उबेलाको अवस्था वर्णन गर्दै उनी भन्छिन्, ‘त्यो म्याराथनमा सहभागी हुन एक वर्ष अगाडिदेखि नै योजना बनाएकी थिएँ। म्याराथनमा पत्रकार तथा फोटो पत्रकारलाई लिएर जाने भनिएको थियो। त्यसैले ६ महिना म्याराथनको प्रायोजन गर्ने कम्पनीलाई पछ्याएँ। सो कम्पनीबाट स्पोन्सर पाएपछि फोटो पत्रकारको रूपमा म्याराथनमा पुगें।’ 

त्यसबेला हिमाललाई पहिलो पटक नजिकबाट देखेकी उनलाई नेपालमा ठूला–ठूला हिमाल छन् भन्ने थाहा थियो। तर हिमालका बारे विशेष ज्ञान थिएन। पत्रकारिता गरेको ६ वर्ष बितिसके पनि नेपालको विशेष पहिचान बोकेको हिमाललाई चिन्न ढिलो भएको उनले महसुस गरिन्। 

हिमाल चढ्दा चाहिने गेयर साथीहरू र माउन्टेनरसित मागेकी थिएँ। ब्रान्डिङ गेयर पनि थिएनन्। सन् २००१ मा सगरमाथा आरोहण गरेका सबैभन्दा कान्छा आरोही तेम्बाछिरी शेर्पाको एक्सपिडिसन कम्पनी छ। 

संसारभरका विदेशीहरू लाखौं रुपैयाँ खर्चिएर नेपालमा हिमाल चढ्नकै लागि आएको देख्दा आफूलाई नेपाली हुनुको लज्जाबोध भएको उनी सुनाउँछिन्। म्याराथनपछि काठमाडौं फर्कंदै गर्दा अर्को वर्ष सगरमाथा चढ्ने अठोट गरिसकेकी उनले आफ्नो योजना साथीहरू र चिनजानका व्यक्तिलाई सुनाइन्।

सुरुमा सगरमाथा चढ्ने कुरा गर्दा धेरैलाई आफ्नो कुरा पत्याउन मुस्किल भयो। फोटो पत्रकारिता गरिरहेकाले पवर्तारोहण गर्नु भनेको सबैका लागि नौलो विषय हुने भइहाल्यो। गोरखामा नेवारी समुदायमा जन्मिएकी उनलाई हिमाल चढ्नु चुनौतीको विषय थियो। सगरमाथा चढ्न गर्नुपर्ने तयारीबारेमा बुझ्न एक्सपिडिसन कम्पनी धाउन थालिन्। उनीहरूले सगरमाथा चढ्नुअघि ६ हजार आसपासका उचाइ भएका हिमाल आरोहण गर्न सल्लाह दिए। ती हिमाल चढ्दा सगरमाथा आरोहण गरेको अनुभव र प्रशिक्षण हुने भएर यस्तो सुझाव दिएका थिए। 

दुई÷तीन महिनाको तयारी गरेर मनास्लु हिमाल चढेँ। एक्सपिडिसन कम्पनीले मनास्लु हिमाल आरोहणका लागि आग्रह गरेपछि उनले जाने निर्णय गरिन्। आफू जन्मिएको जिल्ला गोरखामै रहेकाले पनि यो हिमाल चढ्ने उत्साह जाग्यो। टे«निङबिनै हिलो पटकमै हिमाल चढ्न सफल भइन्। 

मनास्लु हिमाल संसारको आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ हिमशृंखलामध्येमा पर्छ। यसको उचाइ ८ हजार १ सय ६३ मिटर रहेको छ। 


हिमाल चढ्न अरूले गाह्रो हुन्छ भनेका थिए तर आफैँले भोगेकी थिइनँ। हिउँमा हिँडेको पहिलो अनुभव नै मनास्लुको पर्वतारोहण बन्यो। मनास्लुको पर्वतारोहण सिकाइ र अनुभवसँगै कठिनाइ पनि सहनुपर्‍यो। 

हिमाल चढ्दै गर्दा उत्साहसँगै डर पनि लाग्यो। तर हिमाल आरोहण गर्ने आत्मविश्वास मनमा थियो। अरूलाई म गर्न सक्छु भनेकी थिएँ। सोहीअनुसार हिमाल चढ्ने मनस्थिति बनाएरै तयार भएँ। तर जतिजति उचाइमा पुग्दै जान्थें, त्यति नै केही भइहाल्ने हो कि भन्ने डर बढ्दै जान्थ्यो। अन्य हिमाल चढ्दाको तुलनामा मनास्लु आरोहण गर्दा बिरामी हुने, कतै जोखिममा परिन्छ कि भन्ने डर बढी भयो। 

हिमाल चढ्दा चाहिने गेयर साथीहरू र माउन्टेनरसित मागेकी थिएँ। ब्रान्डिङ गेयर पनि थिएनन्। सन् २००१ मा सगरमाथा आरोहण गरेका सबैभन्दा कान्छा आरोही तेम्बाछिरी शेर्पाको एक्सपिडिसन कम्पनी छ। उनीसित पनि आवश्यक पर्ने सामग्री मागेँ, आफूसित भएका सामान देखाएँ, सल्लाह–सुझाव लिएँ। शेर्पाले मलाई हिमाल चढ्न प्रोत्साहन मात्रै गरेनन्, मेरो मनोबल बढाउने कामसमेत गरे। 

सबैले मलाई तिम्रो सपना त सगरमाथा चढ्नु हो। आफूसित पैसा नभई किन जोखिम उठाउँछ्यौ भनिरहेका थिए। मनास्लु चढ्न सकिनौ भने सगरमाथा आरोहण गर्ने हिम्मत हुँदैन। अरूहरूले पनि सगरमाथा चढ्न सक्छ्यौ भन्ने कुरामा विश्वास गर्दैनथे। अन्य हिमाल चढेर मनोबल घटाउन सक्ने जोखिम नउठाउने सुझाइरहेका थिए। 

तेम्बाछिरी शेर्पालाई भेटेर साथीहरूबाट आइरहेका यस्ता सुझाव र सल्लाहबारेमा सुनाइन्। तेम्बाले मेरो पनि पहिलो पटक हिमाल चढ्दा औंला सबै हिउँले खाइदिएको थियो। हिमाल चढ्दा हामीले सोचेभन्दा फरक महसुस हुन्छ। आफ्नो सपना पूरा गर्न झन् मन लाग्छ भन्दै हौसला थप्ने काम गरे। शेर्पाले आफूलाई हिमाल चढ्न जान गर्नुपर्ने तयारीबारे सल्लाह दिए। त्यसपछि मात्रै ममा हिमाल चढेरै छाड्छु भन्ने आत्मविश्वास जागेको थियो। 

पर्वतारोहण महँगो हुने भएकाले सबैले प्रायोजन गर्न सक्दैनन्। सबैभन्दा महँगो र खर्चिलो एड्भेन्चरमध्ये हिमाल चढ्ने काम पनि हो। नेपालीलाई सगरमाथा चढ्न २० देखि २५ लाख रुपैयाँसम्म लाग्छ भने विदेशी पर्यटकले त्योभन्दा बढी रकम तिर्नुपर्ने पूर्णिमा बताउँछिन्। 

कम्पनीले गाइड राम्रो दिएको थियो। आफ्नै तर्फबाट राम्रो व्यवस्थापन गरेको थियो, कम्पनीले। त्यसैले पनि सुरक्षित भएर पवर्तारोहण गर्न सक्ने विश्वास बढेपछि म अलि ढुक्क भएकी थिएँ। 

अहिले पनि मैले अर्को हिमाल चढ्छु कि चढ्दिनँ भन्ने सोच्नै सकेकी छैन। हरेक हिमाल आरोहण गर्दा फरक–फरक किसिमका कठिनाइ हुन्छन्। हिमाल चढ्दै गर्दा सबै कुरा बिर्सिइन्छ। आफू सुरक्षित पुगेर राम्रोसित फर्कने मात्र सोचिएको हुन्छ। हरेक पटक हिमाल चढिरहँदा अब अर्कोचोटि आउँदिनँजस्तो लाग्छ तर बेस क्याम्प फर्कनेबित्तिकै कहिले अर्को हिमाल आरोहण गरूँझैँ लाग्छ। 

०००

हिमाल चढ्दा यति धेरै गाह्रो हुन्छ, फेरि अर्को हिमाल चढ्न सक्छु भन्ने आँटै नआउने रहेछ। सोही कारण चुचुरोेमा पुग्दा सगरमाथाको आरोहणलाई केही पछि सार्ने सोचमा पुगेकी थिएँ। ६ महिना मात्र बाँकी थियो सगरमाथा चढ्ने समय आउन, तयारी अपुग भएझैं लाग्यो। 

फर्किएर बेस क्याम्प पुगेपछि भने अझ राम्रोसित चढ्न सक्ने हौसला मिल्यो। कुन कुरामा गाह्रो हुने रहेछ, कस्तो तयारी चाहिने रहेछ भन्ने थाहा हुने भएकाले अर्को पटकका लागि आत्मबल थप्दो रहेछ। 

२०१८ मा सगरमाथाको चुचुरोमा पुग्न सफल भएँ। सगरमाथा आरोहणका लागि पुगेको दिनदेखि नै मौसम सफा थिएन। मे महिना भए पनि एकदमै हावा चलिरहेको थियो। उज्यालो भएदेखि नै हावा चलेको थियो। हावाको वेगले हान्दा अनुहारमा घाउ भएर चह¥याइरहेको थियो। घाम आएपछि मात्र सनग्लास लगाएकी थिएँ। चुचुरोमा पुग्दा स्नोब्लाइन्ड पनि भएको थियो। आँखा राम्रोसित देख्न सकिरहेकी थिइनँ। 

चुचुरो पुग्दा गालामा भएको घाउ फ्रस्टबाइट हो कि भन्ने सोच्न थालें। घाउ दुखिरहेको थियो। सफल रूपमा सगरमाथा आरोहण गरेको खुसी एकातिर र अर्कोतिर थकानले दिमाग पूरै थिलथिलो भएको थियो। 

अहिले त्यो समयको फोटो हेर्दा आफ्नै माया लाग्छ। न रुन सकेकी थिएँ, न त हाँस्न नै। होसमै नभएजस्तो, सपनामा भएजस्तो लागिरहेको थियो। खुसी र दुःख दुवै व्यक्त गर्नलाई मानिसलाई शक्ति चाहिने रहेछ। त्यतिबेला म शक्तिहीन भएकी थिएँ। 

हिमाल आरोहण गर्दा चुचुरोमा पुग्नु मात्र पूर्ण सफलता हुँदैन। त्यो आधा मात्र हुन्छ। चुचुरोबाट झरेर सकुशल बेस क्याम्प पुगेपछि मात्र पूर्ण रूपमा पर्वतारोहण सफल हुन्छ। सगरमाथाको चुचुरोमा पुग्दा अब कसरी झरेर बेस क्याम्प फर्किने भन्ने चिन्ताले सताउन थालिसकेको थियो। 

बेस क्याम्प पुगेपछि फर्किएर सगरमाथालाई हेर्दा ‘अहो ! म त्यहाँ पुगेर फर्किएँ र भन्नेजस्तो लाग्ने रहेछ। त्यसपछि मात्र खुसी व्यक्त गर्न सकिन्छ। आफ्नो सफलता देखेर आफैंलाई गर्व महसुस हुँदो रहेछ। 

हिमाल आरोहण गर्दा र झर्दा एउटै शक्ति खर्चिनुपर्छ। तर ओरालो हुँदै झर्दा छिटो हुन्छ। त्यतिबेला ‘इनर्जी’ सकिइसकेको हुन्छ। साथमा लगेका खानेकुरा पनि सकिन लागिसकेका हुन्छन्। तिर्खा लागिरहेको हुन्छ। अक्सिजन सिलिन्डर पनि सकिन लागिसकेको र मौसम कतिबेला परिवर्तन हुन्छ भन्ने चिन्ता बढिरहन्छ। तर दिनरात नभनी चुमेको हिमाल केही घन्टामै झर्न सकिन्छ। 

०००

पर्वतारोहण महँगो हुने भएकाले सबैले प्रायोजन गर्न सक्दैनन्। सबैभन्दा महँगो र खर्चिलो एड्भेन्चरमध्ये हिमाल चढ्ने काम पनि हो। नेपालीलाई सगरमाथा चढ्न २० देखि २५ लाख रुपैयाँसम्म लाग्छ भने विदेशी पर्यटकले त्योभन्दा बढी रकम तिर्नुपर्ने पूर्णिमा बताउँछिन्। आठ हजारभन्दा बढी उचाइका हिमाल चढ्न १५ देखि २० लाखसम्म खर्च हुने गर्छ।

‘हिमाल चढ्दा सधैं सकुशल फर्किइने पूर्ण ग्यारेन्टी हुँदैन। हरेकपल्ट हिमाल आरोहण गर्दा जोखिम मोलेरै चढ्नुपर्छ। आफूले चाहेर मात्र हुँदैन। प्रायोजक पनि पाउनुप¥यो,’ पूर्णिमा भन्छिन्। 

हिमाल चढ्दा आफू कसरी बाँच्ने भन्ने मात्रै मनमा आइरहने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अरू सबै बिर्सिइन्छ। मानिस आफू सुरक्षित भएपछि मात्र परिवार, आफन्त, साथीभाइ र आफ्नो भविष्यबारेमा चासो राख्छन्। हिमालमा आप्mनै सुरक्षाका लागि संघर्ष गरिरहँदा अरू सबै कुरा सम्झनै सकिँदैन।’ 

हिमाल ‘डेथजोन’ जस्तै हो। कति बेला के हुन्छ, थाहै हुन्न। त्यसैले परिवारलाई हरेक पटक हिमाल चढ्न जाने खबरले झस्काउँछ। जोखिम लिएर हिमाल नचढोस् भन्ने चाहना बुबाआमाको हुन्छ। तर हिमाल आरोहण सफल भएर फर्किएको खबरले सबैभन्दा खुसी उहाँहरूलाई बनाउँछ। अब पुग्यो, हिमाल चढ्ने कुरा गर्न छाडिदिएँ भन्नुपर्छ। 

समाजमा उमेर पुगेकी छोरीले विवाह गर्नुपर्छ भन्ने मान्यता छ। आमाबुबा पनि छोरीले विवाह गरेर घरजम भएको हेर्न चाहनुहुन्छ। मैले चिनेका साथीभाइ र आफन्त मेरो सफल हिमाल आरोहणमा खुसी भइरहँदा आमाबुबा भने एकपछि अर्को रेकर्ड राखेभन्दा पनि सुरक्षित घर फर्किएकामा बढी खुसी देखिनुहुन्छ। 

घर फर्किएपछि आराम गर भन्नुहुन्छ। के खान मन छ, थकाइ लाग्यो होला भनेर विशेष ख्याल राख्नुहुन्छ। दुब्लाएर, हिउँले अनुहार खाँदा काली भएर आएकी हुन्छु। आमा त पीर र खुसी दुवैका कारण धेरै रुनुहुन्छ। हिमाल चढेर फर्किएपछि परिवार बढी भावुक हुन्छ।

एउटा सफलतापछि अर्को सफलता पाउने हुटहुटी चल्छ मलाई। आफैंलाई नयाँ चुनौती दिन मन लाग्छ। त्यसैले हरेक पटक हिमाल चढ्न झन्–झन् प्रोत्साहन मिल्ने गरेको छ। हिमाल चढ्नैपर्छ भन्नेचाहिँ होइन। सफलता मिलेपछि थप नयाँ काम गर्ने रहर र जोसका कारण हिमाल चढिरहन्छु। 


एउटा हिमाल आरोहण गर्न सामान्यतया ३० देखि ३५ दिनसम्म लाग्छ। एक्सपिडिसन कम्पनीले तयार गरेको टिमसित यो समय बित्ने गर्दछ। बेस क्याम्पमा सँगै भइन्छ, खाजा, खाना सँगै खाइन्छ। हिमाल चढ्दै गर्दा साथमै भइन्छ। यसरी हिमाल चढिरहँदा एक किसिमको सम्बन्ध बनिसकेको हुन्छ। 

पर्वतारोहीको टिम हिमाल आरोहण गरिरहँदा एउटा परिवारजस्तै बनेको हुन्छ। बाटोमा गाह्रोसाह्रो हुँदा एकअर्कालाई सहयोग गरिन्छ। तिर्खा लाग्दा पानी खान सघाउने, कमजोर हुँदा चकलेट खुवाइदिने गरिन्छ। एकअर्कोलाई सहयोग गरेर सफल पर्वतारोहण गर्न सकिन्छ। विदेशी पर्वतारोहीदेखि नेपाली गाइड, किचेनका स्टाफ सबै परिवार बनेका हुन्छन्। अर्को टिमका मानिससित पनि साथी बनिएको हुुन्छ। 

हिमालबाट फर्किसकेपछि पनि कसले के गरिरहेका छन्, सामाजिक सन्जालबाट थाहा हुन्छ। कुन हिमाल पुगे, के योजना छ भन्ने चासो हुन्छ। एकअर्कालाई सुझाव र सल्लाह दिने काम भइरहन्छ। 

००००

भित्री मनदेखि चाहेको कुरा गरे मात्र सफलताले पछ्याउने पूर्णिमाको बुझाइ छ। अरूको लहलहमै लागेर गरेको काम ध्यान दिएर गर्न नसकिने उनको अनुभव छ। आफैंले चाहेर गरेको काममा असफल भए अरूलाई दोष दिन नमिल्ने हुँदा जस्तोसुकै चुनौती सहेरै भएर पनि सफलता पाउन सकिने उनी बताउँछिन्। 

सामान्यतया आममानिसको सोचाइ हिमाल आरोहण गर्नेहरू बढ्ता बलिया हुन्छन् भन्ने छ। ‘तिमी त कति धेरै बलियो छौ होला है’ भन्ने प्रश्न सबैले गरिरहने उनी बताउँछिन्। ‘बलियो हुनुभन्दा पनि मानसिक रूपमा कति बलियो छ भन्ने कुराले भर पार्छ। मनोबल र आत्मविश्वासले मात्र हिमाल आरोहणमा सफलता पाउन सकिन्छ,’ पूर्णिमा आफ्नो अनुभव सुनाउँछिन्, ‘थाकिसक्दा, शारीरिक रूपले कमजोर बन्दा पनि मलाई सफल रूपमा हिमाल चढ्नु छ भन्ने कुराले ऊर्जा थप्छ। जस्तोसुकै खराब वातावरण र खतरा भए पनि त्यसलाई पचाउन सकिन्छ।’

पूर्णिमाले यसपालि तीन वटा हिमाल चुमिसकेकी छन्। हिमाल आरोहणको अनुभव सुनाउँछिन्, ‘नेपालबाट आरोहण गर्न सकिने तीन वटा हिमाल बाँकी थिए। एउटै सिजनमा तीन वटा हिमाल चढ्ने सोचेकी थिएँ। तर आर्थिक पक्ष राम्रो हुन सकेन। पैसा नभई हिमाल चढ्नु भनेको असम्भव हो। त्यसैले कञ्चनजंघाका लागि मात्र योजना बनाएर गएकी थिएँ।’ 

कञ्चनजंघा हिमाल चढेर फर्कने क्रममा एड के एक्सपिडिसन कम्पनीका अधिकारीसित भेट भयो। त्यो कम्पनीले आवश्यक पर्ने सबै खर्चको जिम्मा लिने बताएर ल्होत्से हिमाल आरोहण गर्न अफर गर्‍यो। हिमाल चढ्ने आयोजक पाउँदा खुसीले गद्गद हुँदै कञ्चनजंघा आरोहण गरेर घर नफर्किई ल्होत्से पुगें। 

शारीरिक रूपमा हिमाल आरोहण सकस भए पनि पैसा जम्मा पार्नु पनि हिमाल चढ्नुजस्तै गाह्रो हुन्छ। त्यसैले रकम जोहो गरिदिने कम्पनीलाई नकार्ने कुरै भएन। 

मलाई स्पोन्सर गरेकै कम्पनीले अब कुन हिमाल चढ्न बाँकी छ भनेर सोध्यो। मकालु मात्र बाँकी थियो मेरो। त्यसैले ग्रुप राम्रो भएकाले पनि त्यही कम्पनीसँगै मकालु हिमाल चढ्न गएँ। हिमाल चढेर फर्किए पनि कति खर्च भयो, कति तिर्नुपर्ने हो, हिसाब गरेकी छैन। मकालु हिमाल उधारो चढेर आएकी हुँ। 

पूर्णिमाले यसपालि तीन वटा हिमाल चुमिसकेकी छन्। हिमाल आरोहणको अनुभव सुनाउँछिन्, ‘नेपालबाट आरोहण गर्न सकिने तीन वटा हिमाल बाँकी थिए। एउटै सिजनमा तीन वटा हिमाल चढ्ने सोचेकी थिएँ। 

मकालु आरोहण गर्नु नै थियो। राम्रो टिम पाएका बेला चढ्दा ठीक हुन्छ भन्ने लाग्यो। एउटै सिजनमा पनि हुने भएकाले मकालु चढ्न गएँ। कञ्चनजंघा चढ्ने योजनाले हिँडेकी म तीन वटा हिमाल चढेर घर फर्किएँ। एउटा हिमाल चढेर आएपछि थकाइ पनि नमारी लगालग अरू हिमाल चढेँ। 

हिमाल चढ्न लागेको रहर र गरेको मिहिनेत देख्दा अचम्म लाग्छ। पत्रकारिता गरेको मान्छे। मेरो व्यावसायिक क्षेत्र पनि होइन। तर एकपछि अर्को हिमालको सफल आरोहणले मलाई ऊर्जा थप्ने काम गर्‍यो। 

तीन वटा हिमाल चढेर आउँदा यहाँको वातावरणमा फरक महसुस भयो। चिसो ठाउँबाट तातो ठाउँमा हुँदा छटपटी भए पनि घर फर्कन पाउँदाको खुसी बेग्लै हुन्छ। सफलता पाएर आउँदा सबैको बधाइ र स्याबासी पाउँदा सन्तुष्टि लाग्छ। मलाई यहाँ (काठमाडौं) मा सास फेर्न पनि गाह्रो छैन, खानेकुरा अभाव छैन। हिमालमा जस्तो दुःख यहाँ केही पनि छैन। 

घरमा सबैले आराम गर, त्यति ठूलो हिमाल चढेर आएकी छौ। अलि दिन घरमै बस भन्नुहुन्छ। जति दुःख पाउनु हिमालमै पाएँ। ठूलो कष्ट पार गरेर आइसकें। मैले अब आराम किन गर्नू ? बिरामी भएर आएको होइन। सफलता पाएर आएकी हुँ। यसले ममा झनै हौसला र शक्ति बढेको छ। काम गर्ने जोस चलेको छ। हिमाल जितेर आएको एक सातामै जिम जान थालिसकें। आफूलाई सक्रिय नराखे बिरामीजस्तै हुन्छ। 

सानैदेखि अरूभन्दा साहसी छु भन्ने लाग्थ्यो। अरूले भन्दा फरक गर्छु भन्ने विश्वास मनमा थियो। हिमाल चढ्छु भन्ने नसोचे पनि युवावस्थामा केही सफलता पाउने लक्ष्य थियो। फरक काम र अनुभवले नै मानिसले धेरै कुरा सिक्न सक्छ। समयलाई चिनेर सही निर्णय तुरुन्तै लिन सक्नुपर्छ। 

०००

हिमाल चढिरहँदाका हरेक पल अविस्मरणीय हुन्छन्। मैले चढेका हिमालमध्ये सबैभन्दा सम्झनालायक पल भने मनास्लुको हो। त्यसपछि मैले धेरै कुरामा सफलता पाएँ। कसैले विश्वास नगर्दा आफूलाई प्रमाणित गर्नु सबैभन्दा अविस्मरणीय समय बन्ने रहेछ। अन्नपूर्ण हिमाल चढ्दा बढी डर लागेको थियो। अन्नपूर्ण हिमाल सुरक्षित छैन, धेरै खतरा छ भनेर अरूले सुनाएकाले पनि डर बढ्नु स्वाभाविकै हो। हिमाल आरोहणका क्रममा अहिलेसम्म कुनै पनि ‘डेन्जर’मा नपरेकामा आफूलाई भाग्यमानी ठान्छु। 

रातभर हिँडेर समिटमा पुग्न लाग्दाको समय जब उज्यालो हुँदै गर्छ, घामको किरण देखिँदै गर्दा सबैभन्दा रमाइलो लाग्छ। जब घामका किरण हिउँमा ठोकिन्छन्, यही दृश्य हेर्न म यत्रो दुःख गरेर आएकी हुँ भन्ने महसुस हुन्छ। जब हिमालमा पुगिन्छ, कल्पनै गर्न नसक्ने संसारमा पुगिएको भान हुन्छ। ती पल सबैभन्दा बढी रमणीय हुन्छन्। यसले हिमाल आरोहण गर्न जतिसुकै कठिनाइ भोग्न पनि तयार भइन्छ। हिमालको सुन्दता नै पर्वतारोहीलाई चुचुरोमा पुर्याउन हौसला दिने कारक हो जस्तो लाग्छ।

प्रकाशित: Jun 19, 2022| 10:06 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।