सोमबार, असार ८, २०८३

संसदीय समितिमा एसपीपी छलफल– प्रधानमन्त्रीलाई सजग बनाउनुपर्छ

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विभिन्न दलका सांसदहरुले परराष्ट्रमन्त्री र नेपाली सेनाका प्रधानसेनापतिसँग छलफल गरेका हुन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सरकार प्रष्ट हुनुपर्ने धारणा सांसदहरुले राखेका छन्। शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विभिन्न दलका सांसदहरुले परराष्ट्रमन्त्री र नेपाली सेनाका प्रधानसेनापतिसँग छलफल गरेका हुन्।  

National life

बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै प्रमलाई सजग भने गराउनुपर्ने बताइन्।

उनले प्रधानमन्त्री देउवाको भ्रमणअघि उनलाई एसपीपी कार्यक्रमको विषयमा संसदीय समितिहरूले सजग पार्नुपर्नेमा समेत जोड दिएकी हुन्।

उनले भनिन् ‘एसपीपी कार्यक्रमबारे कसको पालामा के भयो र कसको सहभागिता भयो भन्ने कुरा भन्दा पनि यसलाई साझा रूपमा लिनुपर्छ। नेपाल सरकारले कुनै पनि विषयमा सम्झौता गर्दा नेपालको असंलग्न परराष्ट्र नीति अन्तर्गत रहेर गर्नुपर्छ।’  तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लेखेको पत्रप्रति टिप्पणी गर्दै उनले यसमा तत्कालीन सरकारको समेत भूमिका रहेको बताइन्।

‘अहिले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणलाई भ्रमपूर्ण बनाउँदा हाम्रो विदेश नीति झन् कमजोर हुन्छ। हाम्रो परराष्ट्रनीति एउटा सरकार आउँदा एकथरी र अर्को सरकार आउँदा अर्कोथरी हुनु हुँदैन,’ उनले भनिन्। 

Shivam cement

प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी कार्यक्रममा कुनै सम्झौता हुँदैन भनेर भनिसकेपछि यसबारे भ्रम फैलाउन नहुने उनको भनाइ थियो।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका सांसद माधवकुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग नेपालले संयुक्त सैन्य अभ्यास गर्न नहुने बताए। पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री शेरबाहादुर देउवाले उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर स्पष्ट पारिसकेको सुनाए।

‘उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वस्त भएको छु। कुनै पनि मुलुकको दबाब स्वीकारिँदैन। यस सम्झौतामा हाम्रो असहमति छ,’ नेपालले भने।

नेपालले  कूटनीतिक मामिलामा ध्यान दिएर मात्र अघि बढ्नुपर्ने उनले बताए। कसैले ‘ह्विस्की खुवाएर नसामा कुनै कागजमा हस्ताक्षर गराउन सक्ने’ भन्दै उनले त्यसबाट बच्न आग्रह गरे। नेपालले भने, ‘यो विषयमा दबाब नै छैन भने त केही भन्नु छैन। तर कहिलेकाहीँ मीठो पाराले फसाउन खोजिएको हुन्छ। कूटनीतिका धेरै पक्ष हुन्छन्, कहिले दबाब दिएर, कहिले फकाएर थाहै नदिइकन, निदाएको बेलामा ह्विस्की खुवाएर नसामा कागजमा सही गरिएलारु त्यसकारण ख्याल गर्नुहोला। कुनै पनि कुरामा नफसी, संस्थागत कुरामा ध्यान दिएर राष्ट्रिय हितमा लाग्नुपर्छ।’

नेपालले आफ्नो दल नेकपा एस राष्ट्रियताको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिने दाबी गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले एसपीपीलाई नकोट्याउन गरेको आग्रहको विरोध गरे।

बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको विषय नकोट्याउन आग्रह गरेपछि रावलले त्यसको विरोध गरेका हुन्। रावलले भने, ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ तर त्यस्तो भन्न मिल्दैन। यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो। संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ।’

परराष्ट्र नीति बाहिर ल्याउँदा गाह्रो पर्ने अवस्था आए देशको कूटनीति कमजोर रहेछ भन्ने बुझ्नुपर्ने उनले बताए। एसपीपीबारे सबै कुरा बाहिर आइसकेपछि पनि एक समयमा आफूले गरेको होइन भन्ने र अर्को समयमा गरेको हो भन्ने स्थितिबाट सेना जोगिनुपर्ने सांसद रावलले बताए।

उनले भने, ‘परराष्ट्रमन्त्रीले सैन्य सम्झौता होइन भन्नुभयो। अमेरिकी मन्त्रीको नेपाल भ्रमण नेपालको हितमा छ भन्नुभयो, त्यो गलत छ।’

सांसद रावलले एसपीपीबारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग पनि गरेका छन्। एसपीपीबारे फरकफरक निकायबाट फरकफरक कुरा आएकाले यसको छानबिन गर्न समिति बनाउनुपर्ने उनको माग छ।

नेपाल एसपीपीमा छैन भन्ने जानकारी दिन सरकारले अमेरिकालाई पत्र पठाउनुपर्ने रावलको सुझाव छ।

बैठकमा परराष्ट्रमन्त्रीले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका थिए। एसपीपीबारे सांसदहरुलाई प्रष्टीकरण दिँदै उनले यो सम्झौता अघि नबढ्ने बताएका थिए।

मन्त्री खड्काले भने, ‘हामी सबैले एक या अनेक तरिकाले यसलाई खोतल्नु आवश्यक छैन। यो नगर्ने भनेपछि च्याप्टर क्लोज भइसकेको छ। प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौं भनेपछि थप खोतल्न कोट्याउन हुन्न।’

उनले अब यो अघि बढ्न नसक्ने बताएका छन्। ‘अब अघि बढ्न सक्दैन। यो नेपालको हितमा छैन। एसपीपी नेपाललाई स्वीकार्य छैन,’ मन्त्री खड्काले भने।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम नेपाली सेनालाई मान्य नभएको स्पष्ट पारे। शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए।

उनले भने, ‘एसपीपी कुनै हालतमा हाम्रो काम हैन। एसपीपी हाम्रो लागि मान्य पनि छैन।’ बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया–प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने उनले सुझाव दिए।

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो। शर्माले भने, ‘मानवीय सहयोगका लागि चिठी लेखेको हो, सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,’ उनले भने।

एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माले बताए।

एसपीपीबारे विभिन्न कुराहरु बाहिर आएपछि संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई बैठकमा बोलाएको हो। दुवैले सांसदहरुका प्रश्नको जवाफ दिएका थिए। 

उता, राष्ट्रियसभा बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले एसपीपी प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुछ्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।

कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको दावी थियो। सांसद पन्थले सो प्रस्ताव केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकिर गर्दै ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार नगर्न पनि प्रमुख प्रतिपक्षी एमालेलाई चेतावनी दिए।

सांसद पन्थले एमालेले सो प्रस्तावको विषयमा प्रतिक्रिया दिँदासमेत कूटनीतिक मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति जनाए।

प्रकाशित: Jun 17, 2022| 12:39 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...