काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग नेपालले संयुक्त सैन्य अभ्यास गर्न नहुने बताएका छन्।
अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) को विषयमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री शेरबाहादुर देउवाले उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर स्पष्ट पारिसकेको बताए।
‘उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वस्त भएको छु। कुनै पनि मुलुकको दबाब स्वीकारिँदैन। यस सम्झौतामा हाम्रो असहमति छ,’ नेपालले भने।
नेपालले कूटनीतिक मामिलामा ध्यान दिएर मात्र अघि बढ्नुपर्ने उनले बताए। कसैले ‘ह्विस्की खुवाएर नसामा कुनै कागजमा हस्ताक्षर गराउन सक्ने’ भन्दै उनले त्यसबाट बच्न आग्रह गरे। नेपालले भने, ‘यो विषयमा दबाब नै छैन भने त केही भन्नु छैन। तर कहिलेकाहीँ मीठो पाराले फसाउन खोजिएको हुन्छ। कूटनीतिका धेरै पक्ष हुन्छन्, कहिले दबाब दिएर, कहिले फकाएर थाहै नदिइकन, निदाएको बेलामा ह्विस्की खुवाएर नसामा कागजमा सही गरिएला? त्यसकारण ख्याल गर्नुहोला। कुनै पनि कुरामा नफसी, संस्थागत कुरामा ध्यान दिएर राष्ट्रिय हितमा लाग्नुपर्छ।’
नेपालले आफ्नो दल नेकपा (एस) राष्ट्रियताको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिने दाबी गरे।