काठमाडौं– नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन्।
रावलले भने, ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ तर त्यस्तो भन्न मिल्दैन। यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो। संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ।’
परराष्ट्र नीति बाहिर ल्याउँदा गाह्रो पर्ने अवस्था आए देशको कूटनीति कमजोर रहेछ भन्ने बुझ्नुपर्ने उनले बताए। एसपीपीबारे सबै कुरा बाहिर आइसकेपछि पनि एक समयमा आफूले गरेको होइन भन्ने र अर्को समयमा गरेको हो भन्ने स्थितिबाट सेना जोगिनुपर्ने सांसद रावलले बताए।
उनले भने, ‘परराष्ट्रमन्त्रीले सैन्य सम्झौता होइन भन्नुभयो। अमेरिकी मन्त्रीको नेपाल भ्रमण नेपालको हितमा छ भन्नुभयो, त्यो गलत छ।’
सांसद रावलले एसपीपीबारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग पनि गरेका छन्। एसपीपीबारे फरकफरक निकायबाट फरकफरक कुरा आएकाले यसको छानबिन गर्न समिति बनाउनुपर्ने उनको माग छ।
नेपाल एसपीपीमा छैन भन्ने जानकारी दिन सरकारले अमेरिकालाई पत्र पठाउनुपर्ने रावलको सुझाव छ।
बैठकमा परराष्ट्रमन्त्रीले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका थिए। एसपीपीबारे सांसदहरुलाई प्रष्टीकरण दिँदै उनले यो सम्झौता अघि नबढ्ने बताएका थिए।
मन्त्री खड्काले भने, ‘हामी सबैले एक या अनेक तरिकाले यसलाई खोतल्नु आवश्यक छैन। यो नगर्ने भनेपछि च्याप्टर क्लोज भइसकेको छ। प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौं भनेपछि थप खोतल्न कोट्याउन हुन्न।’
बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम नेपाली सेनालाई मान्य नभएको स्पष्ट पारे। शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए।
उनले भने, ‘एसपीपी कुनै हालतमा हाम्रो काम हैन। एसपीपी हाम्रो लागि मान्य पनि छैन।’ बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया–प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने उनले सुझाव दिए।
सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो। शर्माले भने, ‘मानवीय सहयोगका लागि चिठी लेखेको हो, सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,’ उनले भने।
एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माले बताए।
एसपीपीबारे विभिन्न कुराहरु बाहिर आएपछि संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई बैठकमा बोलाएको हो। दुवैले सांसदहरुका प्रश्नको जवाफ दिएका थिए।