काठमाडौं– नेकपा एमालेका सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर विकृत ढंगले कुराहरू भइरहेको बताएका छन्। उनले एसपीपीको विषयमा तथ्य विपरीत, पूर्वाग्रहरहित र गठबन्धनले गरेका अपराधहरूलाई ढाकछोप गर्ने दुष्प्रयत्न भएको आरोप लगाए।
‘एसपीपी प्रस्ताव अमेरिकीहरूको तर्फबाट आएको बेलामा सन् २०१५ र २०१७ मा औपचारिक ढंगले पोजेटिभ रेस्पोन्स गरेर नेपालको तर्फबाट पठाइएको थियो। २०१५ मा यो मुलुकमा प्रधानमन्त्री को थियो? रक्षामन्त्री को थियो? प्रधानमन्त्री र रक्षा मन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ? २०१७ मा जसले सकारात्मक ढंगले अमेरिकालाई पठायो, त्यतिबेला मुलुकको प्रधानमन्त्री को थियो?’ उनको प्रश्न छ। पोखरेलले गठबन्धनका नेताहरूले आज झुटो कुरा बोलेर एमालेप्रति आक्षेप लगाउने काम गरेको भन्दै आपत्ति जनाए। उनले यसको आफूले निन्दा गर्न चाहेको बताए।
सन् २०१५ मा सुशील कोइराला प्रधानमन्त्री रहेको र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बताउँदै उनले अहिले एमालेप्रति संकेत गरेर गठबन्धनका नेताहरूले गलत कुरा बोलिरहेको आरोप लगाए। उनले एमाले सरकारमा भएको बेलाका कुनै लिखित दस्तावेज भए एमालेले त्यसको जिम्मेवारी लिन तयार भएको बताए।
पोखरेलले लाज पचाएर विभिन्न कुरा उछालिएको तर्क गर्दै नेपालको असंलग्न प्रराष्ट्र नीतिमा एमाले कटिवद्ध रहेको दाबी गरे। उनले यही एमालेको राष्ट्रिय अडान भएको बताए।
नेपाली सेनाले विभिन्न ढंगले तालिम लिने कुरामा एमाले पोजेटिभ भए पनि नेपाललाई सैनिक गठबन्धनमा सामेल गराउने कुराको पक्षमा एमाले नरहने उनले बताए। उनले एमालेलाई देखाएर आफ्नो गल्ती छोप्ने कार्य भइरहेको बताए।
एसपीपी एमालेको पालामा भएको भन्दै गठबन्धनका जिम्मेवार नेताले भनेको बताउँदै पोखरेलले कि प्रमाणसहित आउनुपर्ने नत्र सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए। एसपीपी देशका नेताहरूको छलछामपूर्ण र सत्ता टिकाउनका लागि आएको अस्त्र भएको पोखरेलले आरोप लगाए।
पोखरेल प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दैथिए।