विराटनगर– प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ रहेको बताए। उनले आन्तरिक राजस्वमा ४ अर्ब ९८ करोड ३५ लाख रुपैया रहने बताए।
सार्वजनिक बजेटमा राजस्व बाँडफाँडतर्फ ११ अर्ब ८८ करोड २४ लाख रुपैया, संघतर्फ वित्तीय समानिकरणमा ९ अर्ब ८२ लाख, शसर्त अनुदान ८ अर्ब ६९ करोड, समपूरकबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख रहने उल्लेख छ। सोही क्रममा राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख ब्यहोर्न सरकारले जनाएको छ। यसमा अपुग रकम नगद मौज्दात ३ अर्ब ५१ करोड र वैदेशिक अनुदानमा २५ करोड ६८ लाख रहेन सरकारले जनाएको छ।
प्रदेश सरकारले नेपालको कानुनले अवैध मानेको घरेलु मदिरालाई ब्रान्डिङ गर्नका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले पनि घरेलु मदिरा ब्रान्डिङका लागि अहिलेसम्म आवश्यक कानुन बनाएको छैन। कानुन नै नबनाइकन घरघरमा अवैध रूपमा उत्पादन हुने मदिराको ‘ब्रान्डिङ’का नाममा सरकारले बजेट विनियोजन गरेको हो।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मन्त्री आङ्बोले घरेलु मदिरा ‘ब्रान्डिङ’का लागि बजेट विनियोजन गरिएको जानकारी दिए।