बुटवल– लुम्बिनी प्रदेशका राज्यमन्त्री बिमला कुमारी खत्री ओली संलग्न घटनाका सन्दर्भमा लुम्बिनी प्रदेश सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कानून महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्तीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिले १५ दिनभित्र घटनाबारेमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्ने सरका वक्ता एवम् समितिका संयोजक तिलकराम शर्माले बताए।
विपक्षी दल नेकपा एमालेले राज्यमन्त्री ओलीलाई बर्खास्त गर्न माग गरेपछि सरकारले छानबिन समिति गठन गरेर बजेट कार्यक्रम अघि बढाउने निर्णय गरेको बताइएको छ। विपक्षी एमालेले राज्यमन्त्रीको विषयलाई लिएर संसदमा अवरोध गर्न सक्ने भएकाले छानबिन समिति गठन गरेको हो।
स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण राज्यमन्त्री ओली मंगलबार बिहान दाङ तुल्सीपुर-५ स्थित एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको अभियोग लागेको छ मीनाले प्रहरीमा आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीसमक्ष कारबाहीको माग गरेकी छन्। मंगलबार दिनभर प्रहरीको नियन्त्रणमा रहेकी राज्यमन्त्री ओलीलाई मुख्यमन्त्रीको आग्रहमा गएराती बुटवल ल्याइएको छ।
राज्यमन्त्री खत्रीले आफू आर्थिक कारोबारका लागि बस्नेतको घरमा पुगेको र भित्रबाट चुक्कुल लगाएर बदनाम गरेको बताएकी छन्। राज्यमन्त्री ओली लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचारमा छिन्। मानसिक तनाव उत्पन्न भएकाले अस्पताल भर्ना गरिएको नेकपा माओवादी केन्द्र संसदीय दलले जनाएको छ।