धनगढी- दिनहुँजसो जबरजस्ती करणी र करणीको प्रयास भइरहेको कैलालीमा फेरी बलात्कारको प्रयास गरीएको घटना बाहिर आएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया तारादेवी ताम्राकारले आफुमाथि गाँउकै एक युवाको समुहले साउन २५ गते राति बलात्कारको प्रयास गरेको भन्दै न्यायको लागि पहल गरी दिन मंगलबार पत्रकार सम्मेलन गरी माग गरेकी छन्।
ताम्राकारले सोहि गाउँका करीब २२ बर्षीय लक्ष्मण बोहोरा र बलियाका मंगल गिरीलगायतको समूहले साउन २५ गते राति साढे १० बजे तिर फोन गरी अपशब्द बोल्दै गालीगलौज गरेको र केहि समयपछि घरमा सुतेको समयमा आफुमाथि बलात्कारको प्रयास गरेको पत्रकार सम्मेलनमा जानकारी दिईन्।
आफुले प्रतिकार गरेर बाँच्न सफल भएको बताउँदै उनले भोली पल्ट किटानी जाहेरी सहितको मुद्दा इलाका प्रहरी कार्यालय लम्कीमा दिँदासमेत दर्ता नगरेको गुनासो गरिन्।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुको साटो किटानी जाहेरी दिँदासमेत प्रहरीले विभिन्न वाहाना गर्दै आलटाल गर्ने गरेको बताएकी छन्। दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले राति घरमा आएकालाई किन प्रतिकार गरेको भन्दै उल्टै आफुमाथि मुद्दालगाई आफ्ना छोरा १९ बर्षीय अरुण ताम्राकार र २२ बर्षीय हेमन्त ताम्राकारलाई थुनामा राखेको उनको जानकारी दिईन्।
दलित महिला संघ कैलालीकी अध्यक्ष बालकुमारी सुनारले घटनाको बारेमा जानकारी हुनेवित्तिकै प्रहरीकहाँ पुग्दा प्रहरीले घटनालाई आलटान गरी स्थानीय स्तरमै मिलाउन दबाब दिई रहेको बताएकी छन्। महिलामाथि बलात्कारको प्रयासका साथै घरमा सुतिरहकी महिलाका शरीरमा लगाएका कपडा समेत च्यातिएको घटनाको लिखित किटानी जाहेरी दिंदा समेत कारबाही प्रक्रिया अगाडि नबढनु दुख्द भएको उनको भनाई छ।
ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने घटनाको प्रकृति र उजुरी कर्ता पीडितको बयान फरक परेकाले ढिलाई भएको बताउदै घटनाको बारेमा अनुसन्धान भइरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४