काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पत्रकारहरुलाई आफ्नो निवासमा बोलाएर कुराकानी गरेकी छन्। राष्ट्रपति भण्डारीले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने भन्दै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे पत्रकारहरुसँग चासो राखेकी हुन्।
‘मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिनँ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक पत्रकारले भने। भेटमा मुलुकको सार्वभौमसत्ता र स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल गर्नुपर्ने र त्यसो नभए राष्ट्रपतिले मुलुकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने प्रसंग उठेपछि उनले आफूले जानेर वा नजानेर राष्ट्र हित विपरीतका कुनै पनि काम नगर्ने बताएको ती पत्रकारले जनाए।
भेटका क्रममा राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहीँकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी थिइन्। ‘सरकारका कुनै अधिकारीले असंलग्न परराष्ट्र नीतिका विपक्षमा बोल्नुभएको छैन तर अमेरिकी अधिकारीलाई तिब्बती शरणार्थी क्याम्प जान दिनुले व्यवहारमा अप्ठेरो उत्पन्न गराएको छ’, राष्ट्रपतिलाई उद्धृत गर्दै ती पत्रकारले सुनाए।
सरकार कुनै पनि विदेशी शक्ति राष्ट्रका विषयमा एकपक्षीय जस्तो भएर जान नहुने र यस्तो भएमा नेपालको परराष्ट्र नीतिमा असर पर्ने राष्ट्रपतिको भनाइ थियो। हालै नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको काठमाडौंस्थित तिब्बती शरणार्थी शिविर भ्रमण गरेको विषयले दलहरूभित्र पनि मतभिन्नता उत्पन्न भएको थियो। पत्रकारहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले पनि यसबारेमा चासो राख्दै असन्तुष्टि प्रकट गरेकी थिइन्।्
यसै साता अमेरिकी सेनाका कमान्डर चार्ल ए फ्लिनले गरेको नेपाल भ्रमणबारे पनि भेटमा चर्चा भएको बताइएको छ।
राष्ट्रपति भण्डारीले अहिलेको सरकारले ल्याएको बजेटका विषयमा पनि आफ्नो धारणा सुनाएकी थिइन्। खासगरी किसानले समयमा मल नपाएको, कृषि उत्पादनलाई सरकारले बेवास्ता गरेको, बिचौलिया हाबी भएको जस्ता विषयमा राष्ट्रपति भण्डारीको चासो थियो। उनले आफूले सकेजति र संविधानले दिएको अधिकार कार्यान्वयन गरिरहेको बताएकी थिइइन्।
राष्ट्रपति भण्डारीले जनताले चर्को महँगी खेपिरहेका विषयमा पनि चासो राखेकी थिइन्।
भेटमा केही पत्रकारले पनि आफ्नो धारणा राखेका थिए। वाम गठबन्धन अहिले मुलुकको आवश्यकता भएको र त्यसका लागि राष्ट्रपतिले पहलकदमी लिनुपर्ने कुरा पत्रकारले बताउँदा उनले त्यसबारे आफूलाई चासो नभएको बताइन्। ‘यो विषय समयको माग हो। यसमा धेरै चासो र चिन्ता लिनुपर्ने आवश्यकता छैन। यतिबेला जनताको जीवनशैलीलाई समस्यारहित बनाउनुपर्छ। गठबन्धनको विषय दलहरूले जान्दछन्,’ राष्ट्रपतिलाई उद्धृत गर्दै ती पत्रकारले भने।
राष्ट्रपति भण्डारीले अनशन बसिरहेकी निहारिका राजपूतको माग सरकारले सम्बोधन गर्न नसकेको बारेमा पनि चासो राखेको बताइएको छ। यसबारे आफूले मिडियाबाट थाहा पाएको र निहारिकालाई सहयोग गर्न सरकारले किन बेवास्ता गरिरहेको छ भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताएकी थिइन्।
‘एउटी महिला सानो बच्चासहित अनशन बसिरहेकी छन्। मैले सुन्दैछु– महिला आयोगले पनि सहयोग गरेको छैन रे। महिला मन्त्रालयको त प्रवेश निषेध नै छ भन्ने सुनेकी छु। यस्तो किन भइरहेको छ? सरकारले यसबारे केही सोचेको छ कि छैन?’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक पत्रकारले भने।