काठमाडौं- नेकपा एमालेकी सांसद थममाया थापा मगरले न्यायको माग गर्दै अनशनरत निहारिका राजपूतको सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभामा बुधबार शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनशन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको टिप्पणी गरिन्। ६ दिनदेखि न्यायको माग गर्दै दूधे बालकसहित अनशन बसिरहेकी निहारिकालाई सरकारले नदेख्नु लज्जाको विषय भएको बताएकी हुन्।
‘राज्यले न्याय दिनुपर्ने हो। तर, थाहा नपाएजस्तो गरेको छ। कानमा तेल हालेर बसेको छ,’ उनले भनिन्। उनले निहारिका राजपूतलाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको बताउँदै सो क्रममा गर्भ बसेर अहिले बच्चा २१ महिनाको भइसकेको बताइन्।
'निहारिकाको स्वास्थ्य अवस्था दिनहुँ कमजोर बन्दै गएको छ। बच्चाले आमाको दूध खान नपाउँदा छट्पटी भएको छ। छानबिन होस् र अपराधीलाई कारबाही होस्,' उनले भनिन्।
उनले निहारिकाका पाँच बुँदे माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले महिला हिंसाको सवालमा राज्य गम्भीर हुन नसकेको आरोपसमेत लगाएकी छन्।