काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनतालार्इ करको मारमा पारेको आरोप लगाएको छ । कांग्रेस नेताहरुले औपचारिक कार्यक्रम, सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै सरकारले गरिब नेपालीलार्इ करको मारमा पारेको आरोप लगाएका हुन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको संघीय संसदको अर्थ समितिमा बोल्दै सरकार गरिब जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुनुको साटो गरिब नेपालीलार्इ कर तिराएर दु:ख दिने मनसायका साथ अघि बढेको बताए ।
अर्थ समितिको सदस्य समेत रहेका कार्कीले सरकारले जनताको कर तीर्ने क्षमता विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए। उनले आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्न पनि सरकारसँग आग्रह गरे।
त्यस्तै कांग्रेस नेता रामशरण महतले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारले करमा गरेको वृद्धिको विरोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् :
दोहरो कर र बढदो करदरको मार विरुद्ध जनमत! संघीयता महँगो व्यवस्थाहो,३तहको सरकारको बृहत् संरचनाका कारण प्रशासनिक ख़र्च झन बढ़नेभयोनै!अझ त्यसमाथि तलब भत्ता सुविधा र अन्य अनुत्पादक/फजुल ख़र्च बढ़ाएर जनतामा करभार थोपरने प्रवृत्ति बढेकोछ! जरूरीछ बलियो संघीय क़ानून!
— Ram Sharan Mahat (@ramsmahat) August 13, 2018
कांग्रेस नेताहरुले कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कर बढाउने सरकारको निर्णयको तीब्र आलोचना गरेका छन् ।
संसद बैठकको शुन्य र विशेष समयमा बोल्दै कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले अबैज्ञानिक र अव्यवहारिक रुपमा करको भारी बृद्धि गरेकोले जनता आन्दोलनमा उत्रिएको बताइन्। उनले भनिन्, ‘बीपी कोइरालाको समाजवादी आर्थिक नीति अवलम्बन नगर्दा बर्तमान सरकारबाट नेपाली जनता करको मारमा परेका छन्।’
कांग्रेसकी सांसद प्रमिला राईले सरकारको अनावश्यक कर बृद्धिका कारण कर आतंकबाट जनता मारमा परेको बताईन। उनले कर आतंक बन्द नभए जनता आन्दोलन गर्न तयारीमा रहेको भन्दै कर बढाउने तर सुविधा नदिने प्रबृत्तिले जनता आक्रोसित भएको बताइन्।
प्रकाश स्नेही रसाईलीले राज्यले हरेक ठाउँमा कर लगाएकोले जनता त्रसित र भगभित भएको भन्दै कर बृद्धिको निर्णय फिर्ता गर्न सरकारसँग माग गरे।
नेकपाका सांसद नारायणप्रसाद मरासिनीले स्याङ्जा जिल्लाका किसानहरु बाँदरबाट पीडित भएको भन्दै वाँदरको दुख र समस्याबाट मुक्त गर्न सरकारसँग माग गरे।