काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौंमा बस्ने भएको छ ।
बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने राप्रपा प्रचार विभागका सदस्यसचिव सुन्दर पाण्डेले बताए ।
बैठकमा देशैभरबाट सहभागी हुने नेताहरूले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक गतिविधिबारे रिपोर्टिङ गर्नेछन् ।
सातै प्रदेशमा पार्टी संगठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनुका साथै आगामी प्रदेश र संघीय निर्वाचनमा जनवर्गीय संगठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने सदस्य सचिव पाण्डेले जानकारी दिए ।
राप्रपाले हाल विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी तोकिसकेको छ भने केहीमा छिट्टै प्रमुख तोकिने बताएको छ ।