काठमाडौं-भदौ ५ अघिनै पार्टीका सबै कमिटी एकीकरण गरिसक्ने नेकपाको घोषणा चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय कमिटीहरुबाट चार फरक फरक सूची केन्द्रमा प्राप्त भएको छ।
प्रदेश कमिटी कार्यकारी हुने भएकोले अहिले त्यसको नेतृत्व हात पार्न नेकपाका नेताहरु दौडधुपमा लागेका छन् । केन्द्रमा प्रदेश कमिटीको संख्या टुंगो लागे पनि कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने सहमति हुन बाँकी छ। प्रदेशको नेतृत्वमा भने ४:३ को सहमति भएको छ। ४ प्रदेशको अध्यक्ष पूर्ब एमालेले तीन प्रदेशको नेतृत्वमा पूर्ब माओवादील लिने सहमति भएको छ। कुन कुन प्रदेश कसले लिने भन्नेमा सहमति हुन बाँकी छ।
प्रदेश नं १ मा एमालेले नेतृत्व पाएमा जगन्नाथ खतिवडा, गुरु बराल, देवराज घिमिरे र घनेन्द्र बस्नेतले अध्यक्षमा दावी गरेका छन् । एमालेले पाएमा यिनै मध्येबाट एक अध्यक्ष बन्ने छन् । तर पूर्ब माओवादी केन्द्रले पाएको खण्डमा प्रदेश अध्यक्ष राम कार्कीले पाउने छन् ।
प्रदेश २ तत्कालीन एमालेको भागमा परेको खण्डमा शत्रुधन महतो, नागेन्द्र चौधरी मध्ये एकले नेतृत्व पाउने छन् तर माओवादीको भागमा परेको खण्डमा यस प्रदेश अध्यक्षको जिम्मा प्रभु शाहले पाउने छन् ।
प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्यले ईच्छा देखाएको एक नेताले बताए। तर उनी यस प्रदेशको ईन्चार्ज पनि हुन । ईन्चार्ज प्रदेश अध्यक्ष बन्ने कि नबन्ने भन्नेमा पार्टी भित्र बिवाद रहेको छ। अष्टलक्ष्मी शाक्य पछि यस प्रदेशमा अध्यक्षका दावेदार काशीनाथ अधिकारी छन् । तर यो प्रदेश पूर्ब माओवादी केन्द्रको भागमा पर्यो भने अग्नी सापकोटा वा नारायण दाहाल मध्ये एकले नेतृत्व पाउने छन्।
प्रदेश ४ मा पूर्ब एमालेका मात्रै दावेदार देखिएका छन्। यो प्रदेशको लागि हरि अधिकारी, खगराज अधिकारी र तुलबहादुर गुरुङ दावेदार देखिएका छन् । प्रदेश ५ मा भने पूर्व माओवादीका मणि थापा एक्ला दावेदार छन्।
प्रदेश ६ मा भने पूर्व एमालेका दावेदार धेर्रै देखिएका छन् । यस प्रदेशमा यमलाल कँडेलले प्रवल दावी गरेका छन् । तर उनी एकीकरण भएपछि पनि प्रदेश नेतृत्वमा सबैभन्दा सिनियर हुन्। केन्द्रमा भएको सहमति अनुसार ईन्चार्ज र अध्यक्ष एकीकरण हुनुभन्दा पहिलाका फरक फरक पार्टीका हुनुपर्ने छ।
अर्थात पूर्ब माओवादी केन्द्रका अध्यक्ष भएको खण्डमा पूर्ब एमालेको ईन्चार्ज रहने मापदण्ड छ। यो माप दण्ड लागु हुँदा अध्यक्ष सह ईन्चार्ज हुन्छ। यो प्रदेश पूर्ब एमालेका भागमा परे त्यसको ईन्चार्ज पूर्वमाओवादी केन्द्रका हुनेछन। त्यसो हुदा सबैभन्दा सिनियर नेता कँडेल जुनियरको सहईन्चार्ज भएर बस्नु पर्ने अवस्था आँउछ। त्यस्तो अवस्था सृजना हुँदा गोरख बोगटीले मौका पाउँने छन्। यो प्रदेश पूर्ब माओवादी केन्द्रको भागमा पर्यो भने मायाप्रसाद शर्माले नेतृत्व गर्ने अवसर पाउने छन्।
प्रदेश सातमा भने दुबै तर्फबाट एक एक दावेदार देखिएका छन् । यो प्रदेशमा पूर्वमाओवादीबाट लेखराज भट्ट र पूर्ब एमालेका तर्फबाट कर्ण थापाको दावी छ।
प्रदेशमा कुन पक्षबाट कति सदस्य भन्नेमा टुंगो लागिसकेको छ। प्रदेश १ मा एमालेको तर्फबाट १२२ र माओवादी केन्द्रको तर्फबाट ८५ गरी २०७ सदस्य बनाउने सहमति भएको छ।
प्रदेश २ मा एमालेबाट १०८ र माओवादी केन्द्रबाट १०७ गरी २१५ प्रदेश ३ मा एमालेबाट ११६ र माओवादीबाट १०१ गरी २१७, प्रदेश ४ मा एमालेको तर्फबाट ९९ र माओवादीको तर्फबाट ८८ गरी १८७ प्रदेश ५ मा एमालेको तर्फबाट १०६ र माओवादीको तर्फबाट ९७ गरी २०३ प्रदेश ६ मा एमालेको तर्फबाट ८७ र माओवादीको तर्फबाट ८८ गरी १७५ र प्रदेश ७ मा एमालेबाट १०० र माओवादीबाट ८४ गरी १८४ को प्रदेश कमिटी रहने सहमति भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४